म्याग्दी। धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल नबन्दा दर र मुदीका बासिन्दा सवारी आवतजावत र दैनिक जीवनमा समस्या भोग्दै आएका छन्।
चार वर्षअघि पुल निर्माणका लागि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावका कारण कार्यान्वयन हुन सकेको छैन। हिउँदमा ह्युम पाइप राखेर आवतजावत गरिन्छ, तर बर्खामा बाढी आउँदा असारदेखि कात्तिकसम्म यातायात ठप्प हुन्छ।
दर, मुदी, बगर, नाउरा, नेरवाङ, चेचुङ, खिवाङ र खाम्ला बस्तीलाई गाउँपालिकाको केन्द्रसँग जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि दरखोलामा पुल आवश्यक छ। प्रभावित क्षेत्रमा करिब ७०० घरपरिवार बसोबास गर्छन्।
मुदीको धौलागिरि युवा क्लबका अध्यक्ष विशाल घर्तीले पुल निर्माणलाई प्रमुख मागको रूपमा उठाएका छन्। दरका बासिन्दा खाद्यान्न, निर्माण सामग्री ढुवानी, बिरामीलाई अस्पताल लैजान र कृषि–पशुजन्य वस्तु बजार पठाउन समस्या भएको गुनासो गर्छन्।
धौलागिरि गाउँपालिकाले आव २०७८/७९ मा २५ मिटर लामो मोटरेबल पुलको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो। गण्डकी प्रदेश सरकारले आव २०८०/०८१ मा ५० लाख र २०८१/०८२ मा ३० लाख विनियोजन गरेको भए पनि राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण स्रोत सुनिश्चित गर्न सकिएन।
आव २०८२/०८३ मा संघीय सरकारसँग माग भए पनि योजना सम्बोधन नभएपछि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको छ। नीति तथा कार्यक्रममा जलविद्युत् आयोजनासँग समन्वय गरेर बेलिब्रिज निर्माण गर्ने योजना भए पनि प्रभावित क्षेत्रका बासिन्दा सामाजिक उत्तरदायित्वको रकम पुलमा खर्च गर्न नचाहँदा ढिलाइ भइरहेको छ।





























प्रतिक्रिया