काठमाडौं । मध्यपूर्वको तनावबीच अमेरिकाले इरानको सबैभन्दा महत्वपूर्ण तेल निर्यात केन्द्र मानिने खार्ग द्वीपमा हवाई आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आदेशमा अमेरिकी केन्द्रीय कमानले द्वीपमा रहेका सैन्य आधार नष्ट गरेको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत आक्रमणलाई मध्यपूर्वको इतिहासकै शक्तिशाली कारबाहीमध्ये एक भएको दाबी गरेका छन्। उनले तेल पूर्वाधारलाई भने निशाना नबनाइएको उल्लेख गरेका छन्।
अमेरिका, इजरायल र इरानबीच तनाव बढ्दै जाँदा मध्यपूर्वका विभिन्न स्थानमा तेल संरचना आक्रमणको लक्ष्य बन्न थालेका छन्। इजरायलले तेहरान आसपासका केही तेल डिपो र भण्डारणस्थलमा आक्रमण गरेको जनाएको छ भने इरानले पनि फारसको खाडी क्षेत्रका केही देशमा रहेका तेल संरचनामा जवाफी कारबाही गरेको बताइएको छ।
खार्ग द्वीपमा भएको आक्रमणपछि अमेरिकाले त्यहाँ नियन्त्रण जमाउन सक्ने अनुमानहरू पनि सार्वजनिक हुन थालेका छन्। खार्ग द्वीप इरानको प्रमुख तेल निर्यात केन्द्र हो, जहाँबाट करिब ९० प्रतिशत कच्चा तेल बाहिरिने गरेको बताइन्छ।
करिब २० वर्ग किलोमिटर क्षेत्रफल रहेको यो द्वीप बुशेहर प्रान्तअन्तर्गत पर्छ। यहाँ ४० भन्दा बढी कच्चा तेल भण्डारण ट्याङ्क रहेका छन्, जसको कुल क्षमता दुई करोड बैरलभन्दा बढी रहेको बताइन्छ। दक्षिणी तेल क्षेत्रबाट निकालिएको तेल समुद्रमुनि बिछ्याइएका पाइपमार्फत यहाँ ल्याइन्छ र यहीँबाट विश्व बजारमा पठाइन्छ।
खार्ग द्वीप नजिकै अबुजर नामको ठूलो समुद्री तेल क्षेत्र पनि रहेको छ, जहाँबाट इरानको ठूलो मात्रामा तेल उत्पादन हुन्छ। इरान–इराक युद्धका बेला पनि इराकले यही द्वीपलाई लक्ष्य बनाएर हजारौँ पटक आक्रमण गरेको उल्लेख गरिएको छ।





























प्रतिक्रिया