बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

केन्द्रबिन्दु
9
Shares

जलेश्वर। महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुँच पुगेको छ। बर्दिवास–१, २, ३ र १४ मा लामो समयदेखि खानेपानीको समस्या थियो।

अहिले घरघरमा खानेपानीको धारा जडान भएको छ। बर्दिवास–३ का आशा कुमारीका अनुसार पहिले खानेपानीको अभावले दैनिक जीवन कष्टकर थियो। बर्दिवास–१४ का विक्रम महतोका अनुसार पहिले इनारको पानी प्रयोग गर्नुपथ्र्यो। हिउँद लागेपछि पानीको सतह घट्दै जाँदा चैत–वैशाखमा धमिलो पानी खानुपर्ने अवस्था थियो। अहिले धारा जडान भएपछि पानीको समस्या हटेको छ।

बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जडान गरेको धाराबाट पाँच हजार ९९८ परिवारले पानी सुविधा लिँदै आएका छन्। बर्दिवासको चुरे क्षेत्रमा खानेपानीका तीनवटा मुहान छन्, जुन चुरेको रातु खोलाको दहमा पर्छ। बर्दिवासको मुख्य सहरी क्षेत्रका वडामा दैनिक करिब सात लाख लिटर खानेपानीको माग हुने गरेको छ।

हिउँद लागेपछि उपभोक्ताको माग धान्न खानेपानी समितिलाई समस्या हुने गरेको छ। रातु खोलाको सुनारमरे दहमा यसको मुहान रहेको छ। तर खोला उत्खननका कारण त्यो मुहान जोखिममा परेको छ।

बर्दिवासमा जनसंख्या बढ्दै गएको छ भने पिउने पानीका मुहान घट्दै गएका छन्। यस्तो अवस्थामा पनि बर्दिवासवासीलाई खानेपानी उपलब्ध गराउन खानेपानी समिति सक्रिय रहेको जनाइएको छ।

Logo