पर्वत। प्रदेश अस्पताल कुश्मामा स्वास्थ्य सेवा सुधारका लागि करिब १६ लाख रुपैयाँ मूल्यको पूर्ण स्वचालित प्रयोगशाला मेसिन ‘सीए–२०० अटोमेटिक केमिस्ट्री एनालाइजर’ हस्तान्तरण गरिएको छ । आइतबार अस्पताल परिसरमा एक कार्यक्रमका साथ जेसीजले उक्त मेशिन हस्तान्तरण गरेको हो। सो आधुनिक मेसिनले अस्पतालमा आउने विरामीहरुका लागि रगत परीक्षण र स्वास्थ्य जाँचमा सहजता र गुणस्तर वृद्धि गर्ने विश्वास गरिएको छ ।
कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर ढुण्डीराज पौडेलले उक्त मेसिनले एक घण्टामा करिब दुई सय नमुनाको बायोकेमिकल परीक्षण गर्न सकिने जानकारी गराए । यसबाट कलेजो, मिर्गौला, सुगर, बोसो, प्रोटिन र एन्जाइम जस्ता शरीरका महत्वपूर्ण स्वास्थ्य सूचकहरूको छिटो र भरोसापूर्ण मूल्याङ्कन सम्भव हुने औँलाए।
उनका अनुसार स्वचालित प्रणाली भएकाले मानव त्रुटि कम हुने, रिपोर्ट समयमै उपलब्ध हुने र प्रयोगशालाको काम अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ। यसले स्वास्थ्यकर्मीलाई समयमै रोग पहिचान गर्ने सुविधा उपलब्ध गराउँदै उपचारमा तत्काल निर्णय लिन सहज बनाउनेछ।
पर्वत जेसीजकी अध्यक्ष सर्मिला पौडेलले मेसिनको हस्तान्तरणले जिल्लावासीका लागि गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित हुने विश्वास व्यक्त गर्दै सामाजिक कार्यमा संस्थाको सक्रियता पनि स्मरण गराइन्। उनले अस्पतालमा यस प्रकारका आधुनिक उपकरण थपिनु आवश्यक रहेको र भविष्यमा थप स्वास्थ्य प्रविधि हस्तान्तरण गर्ने योजना रहेको बताइन्।
कार्यक्रममा प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियार शिवले सामाजिक संस्था जेसिजलाई धन्यवाद व्यक्त गर्दै उक्त मेसिनले अस्पतालमा आउने विरामीहरुलाई स्वास्थ्य सेवा प्रदानमा सहजता आउने बताए। उनले भने, “स्वास्थ्य सेवामा प्राविधिक सुधार ल्याउने पहललाई हामी उच्च मूल्याङ्कन गर्छौं। यसले रोग पहिचान र उपचार दुवैलाई सहज बनाउनेछ।”
यस्तै अस्पतालाई अस्पताल जस्तो बनाउन निकै भुमिका खेलेका अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शंकर गिरिले विभिन्न संस्थाहरुमार्फत प्राप्त सहयोगले अस्पताल आजको अवस्थासम्म आएको भन्दै जेसिजको सहयोगप्रति कृतज्ञता दर्शाए। उनले भने,“पर्वत जेसीजले अस्पताललाई प्रदान गरेको स्वचालित प्रयोगशाला मेसिनको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस सहयोगले जिल्लावासीको स्वास्थ्य सेवामा गुणस्तरीय सुधार ल्याउनेछ र हाम्रो प्रयासलाई थप बलियो बनाउनेछ।” उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका प्रशासनिक अधिकृत किरण पौडेल लगायत स्थानिय सरोकारवालाको उपस्थिति रहेको थियो।
आधुनिक मेसिनको प्रयोगले ग्रामीण र दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा सुधार ल्याउने मात्र नभएर रोग पहिचान र उपचारमा ढिलाइ घटाउने र स्वास्थ्य प्रणालीमा विश्वसनीयता थप्ने अपेक्षा गरिएको अस्पताल प्रशासनका मिनराज केसी अविरलले केन्द्रविन्दुलाई जानकारी दिएका छन्।





























प्रतिक्रिया