राँझा। नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरेको छ।
भदौ २४ गते भएको आगजनीमा कार्यालय भवनसँगै कागजपत्र जलेर नष्ट भएपछि असोज र कात्तिकमा सेवा बन्द भएको थियो। मङ्सिर १ गतेदेखि भने भाडाको कार्यालयबाट सेवा सुरु गरिएको हो।
मङ्सिरदेखि चैत ८ गतेसम्म १३ हजार ४०९ जग्गाको स्रेस्ता कायम गरिएको कार्यालय प्रमुख सबिनसिंह चौधरीले बताएका छन्। उनका अनुसार जलेका कागजातको स्रेस्ता कायम गर्ने काम भइरहेको छ र सेवाग्राहीलाई सेवा दिन प्रयास भइरहेको छ।
उनले एकैपटक धेरै सेवाग्राही आउँदा भीड हुने भए पनि सेवा दिने काम जारी रहेको बताए।
२०७४ सालपछि भएका स्रेस्ता डिजिटल भएकाले समस्या नभए पनि त्यसअघिका कागजातमा प्रक्रिया पूरा गर्न समय लाग्ने गरेको छ। विशेष गरी रोक्का यकिन गर्न र सूचना प्रकाशन गर्नुपर्ने भएकाले ढिलो हुने गरेको बताइएको छ।
सेवाग्राहीलाई सजिलो बनाउन हालै सहायता कक्ष पनि स्थापना गरिएको छ। लेखापढी व्यवसायीमार्फत सेवा लिँदा खर्च बढ्ने भएकाले सहायता कक्षबाटै सेवा लिन आग्रह गरिएको छ।
अनलाइन प्रणालीमा समस्या नहुँदा काममा ढिलाइ नहुने पनि कार्यालयले जनाएको छ।































प्रतिक्रिया