किमाथाङ्का। सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रमा काम गर्ने मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन्।
छ महिनादेखि तलबभत्ता नपाएको भन्दै करिब १,५०० मजदुर तथा पेटी ठेकेदारले आज बिहानदेखि काम बन्द गरेर आन्दोलन सुरु गरेका हुन्। चिचिला गाउँपालिका–२ पुखुवास्थित विद्युत्गृह क्षेत्रमा भइरहेको आन्दोलनका कारण आयोजनाको काम पूर्ण रूपमा प्रभावित भएको छ।
निर्माण कम्पनीले समयमै तलब भुक्तानी नगरेको भन्दै असन्तुष्ट मजदुरहरूले काम रोकेको बताएका छन्। आयोजनाको निर्माण भारतीय कम्पनी पटेल इन्जिनियरिङमार्फत भइरहेको छ भने समग्र परियोजना भारतीय सतलज कम्पनीको लगानीमा अघि बढिरहेको छ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार मजदुरहरूले तलब भुक्तानीको माग गर्दै आन्दोलन थालेको जानकारी प्राप्त भएको छ। यसअघि पनि मजदुरहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए र प्रशासनले सम्बन्धित कम्पनीलाई आवश्यक निर्देशन दिएको थियो।
९०० मेगावाट क्षमताको उक्त आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ। करिब रु १ खर्ब २० अर्ब लागत अनुमान गरिएको यस परियोजनामा तीन हजारभन्दा बढी नेपाली तथा भारतीय कामदार संलग्न छन्।
आयोजनाबाट प्रभावित परिवारलाई प्रतिमहिना ३० युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने व्यवस्था छ। साथै, नेपालले २५ वर्षमा करिब रु ३४० अर्ब रोयल्टी, निःशुल्क विद्युत्, आयकर, भ्याट तथा भन्सार शुल्कमा छुटलगायतका लाभ प्राप्त गर्ने विकास सम्झौतामा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिए।





























प्रतिक्रिया