महाकाली सिँचाइ आयोजना: नहर बने पनि पानी अभावले किसान मारमा

महाकाली सिँचाइ आयोजना: नहर बने पनि पानी अभावले किसान मारमा

केन्द्रबिन्दु
24
Shares

महेन्द्रनगर। कञ्चनपुरको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या देखिएको छ।

महाकाली सन्धिअनुसार भारतले टनकपुरबाट नेपाल–भारत सिमानासम्म १,२०० मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले ब्रह्मदेवदेखि शुक्लाफाँटाको टोटी फुलेलीसम्म २८ किलोमिटर नहर निर्माण गरिसकेको छ। त्यस क्षेत्रमा शाखा नहरहरू पनि निर्माणाधीन अवस्थामा छन्।

महाकाली नदीबाट भारतले परीक्षणका लागि केही समय पानी छोडे पनि नियमित रूपमा पानी प्रवाह नभएको कारण समस्या भएको छ। नियमित रूपमा पानी ल्याउन सके करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने देखिएको छ।

आयोजनाले पानी ल्याउने विषयमा सम्बन्धित निकायमार्फत भारतसँग समन्वयका लागि पटक–पटक पत्राचार गरिसकेको भए पनि ठोस प्रगति हुन सकेको छैन। विषय अझै मन्त्रीस्तरसम्म नपुगेको अवस्था छ।

नहर निर्माण भए पनि पानी नआउँदा कतिपय स्थानमा नहर झाडी, घाँस र काठले भरिन थालेको छ। लामो समयदेखि पानी नबगेपछि पूर्वाधारको उपयोग हुन सकेको छैन।

१८ वर्षअघि सुरु भएको आयोजनाले कैलालीको मालाखेतीसम्म ३३,५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ। हालसम्म करिब ६० प्रतिशत भौतिक प्रगति भएको छ भने केही स्थानमा जग्गा अधिग्रहण, मुआब्जा, सुकुम्बासी समस्या र रुख कटानका कारण काम प्रभावित बनेको छ।

यस वर्ष आयोजनाका लागि करिब रु दुई अर्ब बजेट विनियोजन गरिएको छ। मुआब्जा वितरणमा ढिलाइ हुँदा बजेट खर्च र निर्माण कार्य दुवै प्रभावित छन्।

सरकारले २०८७ सम्ममा नहर निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आयोजनामा हालसम्म करिब रु नौ अर्ब लगानी भइसकेको छ। नहरमा नियमित पानी प्रवाह सुनिश्चित गर्न कूटनीतिक र प्रशासनिक पहल आवश्यक देखिएको छ।

Logo