विदेशबाट फर्केर गाउँमै उद्यम: हिमबहादुरको १ करोड लगानीमा भेडाबाख्रा फार्म

विदेशबाट फर्केर गाउँमै उद्यम: हिमबहादुरको १ करोड लगानीमा भेडाबाख्रा फार्म

केन्द्रबिन्दु
12
Shares

म्याग्दी। रोजगारीको सिलसिलामा दुई दशक विदेश बिताएका म्याग्दीका हिमबहादुर छन्त्यालले विदेशको जीवन त्यागेर स्वदेशमै व्यावसायिक भेडाबाख्रा पालन सुरु गरेका छन्।

धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय छन्त्यालले करिब १ करोड रुपैयाँ लगानीमा ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गरेका हुन्। उनका अनुसार विदेशमा कमाएको पुँजीलाई गाउँमै उद्यममा लगानी गर्ने उद्देश्यले फार्म सुरु गरिएको हो।

हाल उनले करिब ६ सय भेडाबाख्रा पाल्दै लेक र बेसी सर्ने घुम्ती गोठ प्रणालीमार्फत व्यवसाय सञ्चालन गर्दै आएका छन्। हिउँदमा बेसी क्षेत्रमा र गर्मीयाममा हिमालको फेदीतर्फ गोठ सार्ने परम्परागत तरिका अपनाइएको छ।

उनका अनुसार वार्षिक रूपमा करिब ३० देखि ४० लाख रुपैयाँ बराबरको भेडाबाख्रा बिक्री हुने गरेको छ। व्यवसायमार्फत उनले स्थानीय तीन जनालाई रोजगारीसमेत दिएका छन् ।

चरन क्षेत्रको कमी, वन्यजन्तुको जोखिम र मौसम परिवर्तनका कारण चुनौती भए पनि उत्पादन र बजारको समस्या नभएको उनको भनाइ छ। स्थानीय तह र पशु सेवा कार्यालयले पनि आवश्यक सहयोग गर्दै आएका छन्।

Logo