दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्ने तयारीमा काठमाडौं महानगर

दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्ने तयारीमा काठमाडौं महानगर

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। महानगरपालिकाले आपत्कालीन स्वास्थ्य सेवालाई अझ छिटो र प्रभावकारी बनाउन ‘दुईपाङ्ग्रे एम्बुलेन्स’ सञ्चालनको तयारी थालेको छ।

सवारी चापका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै बिरामीसम्म पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै मोटरसाइकलमार्फत स्वास्थ्यकर्मी छिट्टै घटनास्थलमा पुर्‍याउने योजना अघि बढाइएको हो। कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यसबारे सम्बन्धित निकायसँग प्रारम्भिक छलफल भइसकेको र आवश्यक अध्ययन गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइएको जानकारी दिएकी छन्।

उनका अनुसार आपत्कालीन अवस्थामा बिरामीसम्म सबैभन्दा पहिले स्वास्थ्यकर्मी पुग्ने प्रणाली विकास गर्न आवश्यक छ। साथै, एम्बुलेन्स बोलाएपछि यसको अवस्थाबारे बिरामीका आफन्तले थाहा पाउने डिजिटल प्रणालीसमेत कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ।

कामपाले २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ। हाल उपत्यकाका विभिन्न स्थानमा राखिएका एम्बुलेन्समार्फत सेवा दिइँदै आएको छ भने अहिलेसम्म ८४ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्। एम्बुलेन्समै ६९ जना गर्भवतीले शिशु जन्माएको तथ्यांक पनि सार्वजनिक गरिएको छ।

विशेषगरी कोभिड–१९ महामारीका बेला २३ हजारभन्दा बढीलाई सेवा दिइएको थियो। महानगरले उपत्यकाभर प्रभावकारी सेवा सञ्चालनका लागि करिब ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने निष्कर्षसमेत निकालेको छ।

अब सवारी जामको चुनौतीबीच छिटो स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित दुईपाङ्ग्रे एम्बुलेन्सको अवधारणा कार्यान्वयनतर्फ अघि बढाइएको छ।

Skip This
Skip This
Logo