उद्योगी, व्यवसायीलाई महासंघको चुनावी चटारोः कसको प्यानल कति बलियो ?

उद्योगी, व्यवसायीलाई महासंघको चुनावी चटारोः कसको प्यानल कति बलियो ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । उद्योगी, व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावलाई लिएर अहिले उद्यमी, व्यवसायीहरुकाे मात्र होइन, सिंगो देशकै ध्यान खिचिरहेकाे छ । प्रतिनिधिसभा निर्वाचनको एक महिनापछि उद्योगी व्यवसायीलाई चुनावको चटारोले छपक्कै छोपेको छ । यही चैत २९ र ३० गते हुन लागेको महासंघको निर्वाचनमा दुई प्यानल मुख्य प्रतिस्पर्धामा छन् । हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल समर्थित एउटा र भावी अध्यक्ष अञ्जन श्रेष्ठको अर्को प्यानल प्रतिस्पर्धामा उत्रिँदैछन् ।

चैतको अन्तिम साता महासंघ अध्यक्ष चन्द्र ढकाल बिदा हुँदैछन् । र, अहिलेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दैछन् । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था विधानले गरेको छ । तर, श्रेष्ठपछि बन्ने अध्यक्ष भने स्वतः नभएर सिधै निर्वाचित हुने व्यवस्था संशोधित विधानमा गरिएको छ । यस्तो व्यवस्था गर्न लागिएको पहिलोपटक भने होइन, २०७३ सालअघि प्रत्यक्ष निर्वाचित कार्यकारी अध्यक्षको व्यवस्था थियो । २०७३ पछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो ।

को-को छन् उम्मेदवार ?

हालका अध्यक्ष ढकालको समर्थन पाएका हेमराज ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ गरी दुई प्यानल चुनावमा होमिएका छन् । निर्वाचनका लागि दुई समूह प्यानलै बनाएर मैदानमा उत्रिएका हुन् ।

अध्यक्ष स्वतः हुने भइसकेपछि त्यसपछिको पद वरिष्ठ उपाध्यक्ष हो । हालका उपाध्यक्ष हेमराज ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन छ । यता स्वतः अध्यक्ष बन्न लागेका अञ्जन श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गरिएको छैन ।

महासंघको पदाधिकारीमा कुल ९ जना हुन्छन् । जसमा अध्यक्ष एकजना, निवर्तमान अध्यक्ष एक जना, वरिष्ठ उपाध्यक्ष एकजना, जिल्ला/नगर उपाध्यक्ष २ जना, वस्तुगत तर्फका उपाध्यक्ष एक जना, एसोसिएट तर्फका उपाध्यक्ष एक जना र कोषाध्यक्ष एक जना रहन्छन् । महासंघको महानिर्देशक पनि पदाधिकारीसरह रहने प्रावधान छ । यीमध्ये वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भने कार्यसमितिले चयन गर्छ । महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष केन्द्रीय सदस्यहरूले चुन्ने व्यवस्था छ । र, महानिर्देशक नियुक्त गरिन्छ । यसका साथै महिला उपाध्यक्ष पनि चुनावपछि नियुक्त गरिन्छ । तर, त्यसका लागि १२ जना महिला केन्द्रीय सदस्यले निर्वाचन जितेर आएको हुनुपर्छ ।

हालका अध्यक्ष चन्द्रप्रसाद ढकालको समूहबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले पुनः उम्मेदवारी दिएकी छिन् । त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र प्रस्तावित महिला उपाध्यक्षका लागि कमला श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

यता अञ्जन श्रेष्ठ नेतृत्वको प्यानलबाट शिवप्रसाद घिमिरेले वस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसका साथै श्रेष्ठको प्यानलबाट एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला/नगरतर्फ उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन् । घिमिरेले १६ सदस्यीय पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरिसकेका छन् । तर श्रेष्ठका प्यानलमा वरिष्ठ उपाध्यक्षबारे भने खुलाइएको छैन ।

यतिबेला वरिष्ठ उपाध्यक्ष पदका दाबेदार हेमराज ढकाल बाहेकका अन्य ४ जना, सुरकृष्ण वैद्य, रामचन्द्र संघाईं र दिनेश श्रेष्ठ, किशोर प्रधान देखिएका छन् । तर यी चार जनाले कहीं कतैपनि आफ्नो दाबेदारी भने अझैपनि दिएका छैनन् ।

अब यही चैत २९ गते ६० औं वार्षिक साधारण सभा उद्घाटन हुनेछ । भोलिपल्ट चैत ३० गते काठमाडौंको प्रज्ञा भवनमा निर्वाचन हुनेछ । एकातिर अटोमोबाइल्स, फुड एन्ड बेभरेज, निर्माण लगायत दजनौं क्षेत्रमा लगानी विस्तार गरेका अञ्जन श्रेष्ठकाे प्यानल मैदानमा छ भने अर्कोतर्फ प्रतिष्ठित व्यावसायिक घराना आईएमई ग्रुपका अध्यक्ष एवं महासंघकै वर्तमान अध्यक्ष ढकालको साथ पाएका हेमराज ढकाल प्यानलबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।

वर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा पूर्वअध्यक्षहरुको पूर्ण साथ रहेकाले ढकाल उस्तै बलिया छन् महासंघको निर्वाचनका लागि । सहयोग र समर्थनका आधारमा हेर्ने हो भने ढकालले नै वरिष्ठ उपाध्यक्षमा बाजी मार्ने देखिन्छ । यद्यपी यही बीचमा कतिपय उद्यमी व्यवसायीहरु भने सहमतिको खाका बन्ने विश्वासमा समेत छन् ।

Skip This
Skip This
Logo