नेप्सेमा डर बनाम अवसरः बजार कुन दिशामा ?

नेप्सेमा डर बनाम अवसरः बजार कुन दिशामा ?

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । पछिल्लो समय ‘स्क्याम’ सम्बन्धी चर्चा, ठूला लगानीकर्तामाथिको कारबाही र तीव्र गिरावटले सेयर बजार गहिरो मनोवैज्ञानिक दबाबमा परेको छ । १०० अंकभन्दा बढीको गिरावटसँगै महत्त्वपूर्ण सपोर्ट लेभल भत्किएपछि लगानीकर्तामा अन्योल र त्रास दुवै देखिएको छ ।

ठूला लगानीकर्ता बजारबाट पछाडि हट्न थालेपछि कारोबार सुस्तिएको छ । खरीद शक्ति कमजोर र बिक्रीचाप उच्च हुँदा बजार अझै दबाबमै रहने संकेत देखिन्छ । धेरैले आज पनि बजार खुल्नेबित्तिकै प्यानिक सेलिङ हुन सक्ने आँकलन गरेका छन् ।

तर केही विश्लेषक फरक दृष्टिकोण राख्छन् । उनीहरूका अनुसार ‘बिग प्लेयर’ हरू हट्दा कृत्रिम मूल्य नियन्त्रण घट्न सक्छ र केही समयपछि बजारले स्थिर आधार बनाउन सक्छ । यद्यपि, छोटो अवधिमा भने नकारात्मक मनोविज्ञान हावी नै रहने देखिन्छ ।

प्राविधिक रूपमा नेप्सेले करिब २६९० को सपोर्ट तोडिसकेको छ, जसले ‘बेयरिस ट्रेन्ड’ पुष्टि गरेको संकेत मानिन्छ । अब बजारको नजर २६०० मा छ । यदि यो स्तर जोगिएन भने २५६०–२५३० सम्म झर्ने जोखिम देखिन्छ । केही विश्लेषकले त अझै ठूलो गिरावटको सम्भावना औंल्याएका छन् ।

नीतिगत अन्योलले पनि बजारलाई थप दबाब दिएको छ । नियामक निकायबाट स्पष्ट सन्देश नआउँदा लगानीकर्ता दोधारमा छन् । बजार सुधारका उपायहरूबारे स्पष्ट नीति नदेखिँदा विश्वास संकट गहिरिँदै गएको छ । यसबीच वित्तीय क्षेत्रमा देखिएका सम्भावित समस्याले थप चिन्ता बढाएको छ । ब्रोकरहरू समेत निगरानीमा पर्नु र तरलता घट्दै जानुले बजार पुनःउत्थान अझै कठिन बन्न सक्ने देखिन्छ ।

समग्रमा, आजको बजार ‘डर’ र ‘सपोर्ट’ बीचको लडाइँमा रहनेछ । यदि २६०० आसपास खरीद बलियो देखियो भने छोटो राहत मिल्न सक्छ, अन्यथा गिरावटले थप गति लिन सक्छ । यस्तो अवस्थामा लगानीकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा—जोखिम व्यवस्थापन-बनेको छ ।

Skip This
Skip This
Logo