वीरगञ्ज। नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र बनाएको छ। चालु आर्थिक वर्षमा मुख्य नहरअन्तर्गत पर्सामा ६ किलोमिटर र बारामा ५ किलोमिटर क्षेत्र सरसफाइ तथा मर्मतसम्भार गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार नहरमा माटोसहितको गेग्र्यान थुप्रिँदै जाँदा नहरको आकार साँघुरिँदै गएको थियो। उनले मुख्य नहरमा कार्यालयकै उपकरण र जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको बताए।
उनका अनुसार नहर वरपर स्थानीयले गरेको अतिक्रमणका कारण निकालिएको फोहोर व्यवस्थापनमा समेत समस्या देखिएको छ। नहर किनारमा घरटहरा, माछापोखरीलगायत संरचना बनेका कारण सरसफाइपछि निस्कने माटो र बालुवा व्यवस्थापन गर्न कठिनाइ भएको उनले बताए।
गण्डक नहरका करिब २५ देखि ३० स्थानमा अतिक्रमणका समस्या देखिएको र त्यसको समाधानका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ।
यसैबीच, शाखा नहरतर्फ पाँच खण्डमा विभाजन गरी करिब ७५ किलोमिटर सरसफाइका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। प्रत्येक खण्डमा १५ किलोमिटरका दरले काम गर्ने गरी करिब ४५ लाख रुपैयाँको ठेक्का स्वीकृत गरिएको छ।
गण्डक नहर संरचना करिब ५० वर्ष पुरानो भएकाले नियमित मर्मत आवश्यक रहेको कार्यालयले जनाएको छ।
नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ मा गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्बन्धी सम्झौता भएको थियो। सो सम्झौताअनुसार भारत सरकारले नारायणी नदीमा ब्यारेज निर्माण गरेको हो, जसबाट करिब २८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।





























प्रतिक्रिया