महासंघलाई ‘स्मार्ट’ बनाउने संकल्पसहित बिदुर धमला चुनावी मैदानमा

महासंघलाई ‘स्मार्ट’ बनाउने संकल्पसहित बिदुर धमला चुनावी मैदानमा

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आगामी ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि वस्तुगततर्फबाट बिदुर धमलाले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्। घरजग्गा तथा आवास क्षेत्रका अनुभवी व्यवसायी धमलाले वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठको प्यानलबाट चुनावी मैदानमा उत्रिने घोषणा गरेका हुन्।

धमला पर्यटन, होटल, बैंकिङ, उड्डयन, निर्यात र आवास विकासका बहुआयामिक क्षेत्रमा तीन दशकभन्दा लामो व्यावहारिक अनुभव बोकेका नेता हुन् । उनी पदभन्दा काम र नीतिगत सुधारलाई प्राथमिकता दिने निस्वार्थी शैलीका लागि चिनिन्छन् र एफएनसीसीआईलाई आधुनिक, व्यवसायीमैत्री तथा स्मार्ट संस्थामा रूपान्तरण गर्ने दृढ प्रतिबद्धतासहित नेतृत्वमा प्रवेश गर्न लागेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिकामा जन्मिएका धमलाले व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । छोटो समयमै उनी व्यावसायिक क्षेत्रमा बहुमुखी पहिचान बनाउन सफल भएका छन् । उनी एस.बी. कम्पनी प्रा.लि.का अध्यक्ष हुन् भने बि.डी. हस्पिटालिटी एन्ड होटललगायत १७ भन्दा बढी कम्पनीमा संलग्न छन् । पर्यटन क्षेत्रमा उनको ठूलो लगानी छ ।

‘सरोवर प्रिमियम फाइभ स्टार होटल’ निर्माणाधीन उनको ड्रिम प्रोजेक्ट हो । यसबाहेक हाउजिङ, एक्सपोर्ट, शिक्षा र बैंकिङ क्षेत्रमा पनि सक्रिय रहँदै उनी घरजग्गा तथा आवास विकासलाई ‘मास्टर बिजनेस’को रूपमा व्याख्या गर्छन् । यो क्षेत्रले सिमेन्ट, छड, फर्निचर, टायल्स जस्ता धेरै उद्योगसँग जोडिन्छ र अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ भन्ने उनको दृष्टिकोण छ ।

नेपाल जग्गा तथा आवास विकास संघको १६ औं साधारण सभाबाट २०८० मा निर्विरोध अध्यक्ष निर्वाचित धमला हाल संघको वरिष्ठ उपाध्यक्षको भूमिकामा छन् । उनी नेपाल जग्गा तथा आवास संघ, काठमाडौंका निवर्तमान अध्यक्ष, एफएनसीसीआईको अर्बान डेभलपमेन्ट कमिटीका उपसभापति, एक्सिस डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष, एयर काष्ठमण्डपका पूर्व सञ्चालक र रोटरी क्लब अफ बागमतीका पूर्व अध्यक्ष समेत हुन् । यी जिम्मेवारीमा उनले संस्थागत सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको हित संरक्षणमा उल्लेखनीय योगदान दिएका छन् ।

व्यवसाय मात्र होइन, सामाजिक योगदानमा पनि धमलाको भूमिका उल्लेखनीय छ । भूकम्प, विपद् तथा अन्य संकटका बेला उनी निजी क्षेत्रबाट अग्रसर भएर राहत, उद्धार र पुनस्र्थापनामा सक्रिय रहँदै आएका छन् । “देश धनी नभएसम्म व्यक्ति धनी भएर अर्थ हुँदैन,” भन्ने उनको भनाइले व्यक्तिगत सफलतालाई राष्ट्रिय समृद्धिसँग जोड्ने उनको दृष्टिकोण झल्काउँछ ।

‘निजी क्षेत्रका समस्यालाई नजिकबाट बुझेको र नीतिगत स्पष्टता भएको नेतृत्वले मात्र अहिलेको प्रतिकूल परिस्थितिमा व्यवसायीलाई भरोसा दिन सक्छ’ भन्ने स्पष्ट भिजन बोकेका धमलाले एफएनसीसीआईमा वस्तुगत क्षेत्रको सशक्त पैरवी, घरजग्गा तथा आवास क्षेत्रलाई व्यवस्थित, मर्यादित र उत्पादनमुखी बनाउने नीतिगत सुधार, प्रोजेक्ट फाइनान्सिङ, ऋण प्रवाह, हदबन्दीमा सुधार, सहरी पूर्वाधार विस्तार, रोजगारी सिर्जना र दिगो आर्थिक विकासलाई मुख्य एजेन्डा बनाएका छन् । उनी वस्तुगत संघहरूको विशिष्ट समस्या समाधान गर्दै महासंघलाई ‘स्मार्ट शैली’ र प्रविधिमैत्री बनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनजस्ता क्षेत्रको प्रवद्र्धन गर्ने तथा गुटबन्दीभन्दा सहमति र साझा एजेन्डामा केन्द्रित नेतृत्वको पक्षधर छन् ।

‘लो प्रोफाइल’ तर परिणाममुखी, शालिन, इमान्दार र टिम स्पिरिटमा काम गर्ने धमला बौद्धिक बहसमा सहज प्रवेश गर्ने र व्यावहारिक समस्यालाई प्राथमिकता दिने नेता मानिन्छन् ।

यसअघि पटक–पटक अवसर आए पनि अन्यलाई प्राथमिकता दिएर ब्याक हटेका उनी यसपटक महासंघलाई आधुनिक बनाउन संकल्पका साथ मैदानमा उत्रिएका छन् । नरेशलाल श्रेष्ठको प्यानलमा रहेर उनी वस्तुगत क्षेत्रको भविष्य निर्धारण गर्ने दौडमा छन् ।

Logo