निजी क्षेत्रको मनोबल उकास्न सफल भयौं -अध्यक्ष चन्द्रप्रसाद ढकाल

निजी क्षेत्रको मनोबल उकास्न सफल भयौं -अध्यक्ष चन्द्रप्रसाद ढकाल

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीनवर्षे कार्यकाल पूरा गर्ने क्रममा सञ्चारकर्मीहरूसँग विशेष भेटघाट गर्दै महासंघ र निजी क्षेत्रले हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

चुनौतीपूर्ण आर्थिक अवस्थामा नेतृत्व सम्हालेका ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रलाई राज्यको वास्तविक साझेदारका रूपमा स्थापित गर्न सफल भएको दाबी गरे ।

अध्यक्ष ढकालले आफूले पदभार ग्रहण गर्दा कोभिड–१९ को अवशेष, अन्तर्राष्ट्रिय द्वन्द्व, तरलता अभाव र उच्च ब्याजदरका कारण अर्थतन्त्र निकै जटिल मोडमा रहेको स्मरण गरे । उनका अनुसार त्यसबेला निजी क्षेत्रको खस्किएको मनोबल उकास्नु र लगानीमैत्री वातावरण बनाउनु नै मुख्य प्राथमिकता थियो। कार्यकालको मुख्य उपलब्धिका रूपमा उहाँले ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ को गठन र सरकारद्वारा ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ को स्वीकृतिलाई लिनुभएको छ। यस रणनीतिले पहिलो पटक निजी क्षेत्रको लगानी र व्यवसायको सुरक्षा तथा सम्मानको कानुनी ग्यारेन्टी गरेको उनको भनाइ छ।

राज्य र निजी क्षेत्रबीचको टकरावको संस्कृतिलाई अन्त्य गर्दै सहकार्यमा आधारित सम्बन्ध निर्माण गर्नुलाई ढकालले दोस्रो ठूलो सफलता मानेका छन् । निजी क्षेत्रलाई अख्तियारको नियमनको दायरामा ल्याउने प्रस्तावलाई परिमार्जन गराउनु र उद्योगहरूलाई ‘शान्ति क्षेत्र’ घोषणा गराउनुले लगानीको वातावरणमा सकारात्मक परिवर्तन ल्याएको उनले उल्लेख गरे । आन्तरिक लगानीलाई एकीकृत गर्न १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गर्नुका साथै भारत, चीन, कतार र यूएई लगायतका मुलुकमा लगानी सम्मेलन आयोजना गरी नेपाललाई लगानी गन्तव्यका रूपमा चिनाउन महासंघले नेतृत्वदायी भूमिका खेलेको उनले बताए ।

आफ्नो कार्यकालमा महासंघको विधान सर्वसम्मत रूपमा संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप समावेशी र पारदर्शी बनाइएको अध्यक्ष ढकालले जानकारी दिनुभयो। अध्यक्षको प्रत्यक्ष निर्वाचन प्रणाली र महिला सहभागितामा गरिएको वृद्धिले संस्थालाई थप लोकतान्त्रिक बनाएको उनको तर्क छ। साथै, पहिलो पटक “निजी क्षेत्रको अवस्था” सम्बन्धी प्रतिवेदन सार्वजनिक गरी मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान रहेको तथ्यगत विवरण प्रस्तुत गरिएको उनले बताए ।

सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष ढकालले आर्थिक पत्रकारहरूको रचनात्मक आलोचना र तथ्यपूर्ण विश्लेषणले नै निजी क्षेत्रका एजेन्डालाई सरकारसम्म पुर्‍याउन पुलको काम गरेको उल्लेख गरे । उनले आगामी दिनमा पनि महासंघ र सञ्चार क्षेत्रबीचको यो सहकार्य अझ सुदृढ रहने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक विकासमा निजी क्षेत्र अब दबाब समूह मात्र नभएर राष्ट्रको दरिलो सहयात्री बनिसकेको उद्घोष गरे ।

Logo