लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध तथा मासु उत्पादन बढाउने योजना अघि बढाएको छ। यसका लागि विज्ञहरूसँग छलफलसमेत गरिएको छ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा प्राविधिक कार्यशाला आयोजना गरिएको थियो। कार्यशालामा कृषि तथा वन विज्ञान अध्ययन संस्थान चितवनका प्रा. डा. भूमिनन्दन देवकोटाले सन् २०२४ को तथ्याङ्कअनुसार नेपालमा करिब ३३ लाख भैँसी रहेको र कुल दूध उत्पादनमा ५७ प्रतिशत तथा मासु उत्पादनमा ३६ प्रतिशत योगदान रहेको बताए।
उनका अनुसार नेपालको औसत उत्पादन अन्य देशको तुलनामा कम छ। नेपालमा पालिने भैँसीका प्रमुख नस्ल स्थानीय लिमे, पार्कोटे, गड्डी र विदेशी/त्रास गुरा जातका रहेका छन्। वंश सुधारका लागि उत्कृष्ट भैँसी छनोट, पुर्खाको रेकर्ड अध्ययन, सन्ततिको आधारमा मूल्याङ्कन तथा स्थानीय नस्ललाई मुर्रासँग क्रस गराउने विधि अपनाउनुपर्ने बताए।
हिमालयन कलेजका प्रा. डा. श्रीरामप्रसाद न्यौपानेले कृत्रिम गर्भाधानमार्फत उन्नत जातका बढी दूध दिने पशु उत्पादन गर्न सकिने बताए।
नेपालमा हाल भैँसीको संख्या ३३ लाख ९४ हजार ७२४ रहेको छ। यसमध्ये लुम्बिनी प्रदेशका तराईका ६ जिल्लामा करिब ६९ प्रतिशत अर्थात् ४ लाख ७३ हजार ६७४ भैँसी छन्। दुहुना भैँसी ९ लाख ६५ हजार ९२० मध्ये ४३ प्रतिशत लुम्बिनीमै छन्।
देशभर दैनिक २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन हुने गरेकोमा लुम्बिनी प्रदेशमा ५ लाख १५ हजार ७८८ मेट्रिक टन उत्पादन हुन्छ। तराईका ६ जिल्लाबाट मात्रै ६६ प्रतिशत दूध उत्पादन हुन्छ, जसमा भैँसीको दूध ६४ प्रतिशत छ।
देशका कुल भैँसीमध्ये करिब २३ प्रतिशत लुम्बिनीमै छन्, जसले डेरी र मासु उत्पादनमा प्रदेशको ठूलो भूमिका देखाउँछ।
प्रदेश सरकारले दुई वर्षदेखि हुलाकीमार्ग आसपासका क्षेत्रमा पाइलट कार्यक्रम सञ्चालन गरिरहेको छ। एक जिल्लामा १५ लाख बजेट विनियोजन गरिएको छ। पहाडी जिल्लामा पनि अन्तरराष्ट्रिय संस्थाको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ।
यदि भैँसी प्रवर्द्धन, वंश सुधार र व्यवस्थापन प्रभावकारी रूपमा गर्न सके आगामी १० वर्षमा लुम्बिनीमै वार्षिक ५५ देखि ६० अर्ब रुपैयाँ बराबरको दूध उत्पादन गर्न सकिने सम्भावना रहेको छ।
यसका लागि नस्ल सुधार, आहार व्यवस्थापन, स्वास्थ्य र प्रजननमा सुधार आवश्यक रहेको बताइएको छ। साथै, करिब २ लाख २० हजार दुरालो भैँसीको उचित व्यवस्थापन गर्न सके प्रदेशमा आयआर्जनको ठूलो आधार बन्ने अपेक्षा गरिएको छ।































प्रतिक्रिया