काठमाडौँ। विसं २०८२ नेपाली चलचित्र उद्योगका लागि समग्रमा सुखद वर्ष बनेको छ। चलचित्र विकास बोर्डका अनुसार यस वर्ष चलचित्र निर्माण, प्रदर्शन, दर्शक सहभागिता र व्यापार सबै सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ।
बोर्डका अनुसार हालसम्म २३० नयाँ चलचित्र दर्ता भएका छन् भने ९४ चलचित्रले चलचित्र जाँचका लागि सिफारिस प्राप्त गरेका छन्। यस वर्ष ५७ स्वदेशी र ९३ विदेशी चलचित्र प्रदर्शन भइसकेका छन्। चैत २७ मा प्रदर्शन हुने ‘राम नाम सत्य’ पछि स्वदेशी चलचित्रको संख्या ५७ पुग्नेछ।
नेपालमा हाल १७२ चलचित्र भवन सञ्चालनमा छन् भने ४४ वितरण संस्था सक्रिय रहेका छन्। यस वर्ष नेपाली चलचित्र हेर्न ३७ लाख ८१ हजारभन्दा बढी दर्शक हल पुगेका छन्। कुल व्यापार रु १ अर्ब ८ करोड ३८ लाखभन्दा बढी पुगेको छ। सिनेपा २ बक्सअफिस तथ्याङ्कअनुसार यस वर्षको सर्वाधिक कमाई गर्ने चलचित्र ‘परान’ रहेको छ, जसले रु १७ करोड ७६ लाखभन्दा बढी कमाइ गरेको छ। त्यसपछि ‘आ बाट आमा’, ‘जेरी अन टप’, ‘ऊनको स्वीटर’ र ‘जारी २’ शीर्ष स्थानमा रहेका छन्।
चलचित्रकर्मीका अनुसार यस वर्ष कथा–प्रधान र स्टार कलाकार दुवै प्रकारका चलचित्रलाई दर्शकले राम्रो साथ दिएका छन्। निर्देशक तुलसी घिमिरेले नेपाली समाज र माटो सुहाउँदो चलचित्र निर्माण भए घरेलु बजार अझै बलियो हुने धारणा व्यक्त गरेका छन् ।
समग्रमा २०८२ साल नेपाली चलचित्र उद्योगका लागि उत्साहजनक र उपलब्धिमूलक वर्ष बनेको देखिन्छ।





























प्रतिक्रिया