काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सरगर्मीसँगै नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ । यसै सिलसिलामा निजी क्षेत्रका परिचित अनुहार होमप्रसाद घिमिरेले वस्तुगत संघतर्फबाट कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनी वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेको प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन्।
उद्योग क्षेत्रमा झन्डै तीन दशकको अनुभव सम्हालेका घिमिरे हाल नेपाल प्लाईउड उत्पादक संघका केन्द्रीय अध्यक्ष हुन्। यसका साथै उनी एफएनसीसीआईको स्थल यातायात तथा पारवहन समिति र नेपाल निर्यात व्यावसायिक महासंघको कार्यसमिति सदस्यका रूपमा समेत सक्रिय छन्। उत्पादनशील उद्योग, विशेष गरी प्लाईउड तथा काष्ठजन्य सामग्रीको व्यवसायलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न उनको उल्लेख्य योगदान रहेको छ।
घिमिरेको नेतृत्वमा नेपाल प्लाईउड उत्पादक संघले भारतीय बजारमा नेपाली उत्पादनको निर्यात सहज बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। गत आर्थिक वर्षमा भारतीय गुणस्तर प्रमाणपत्र नवीकरणमा भएको ढिलाइले निर्यात ४६.८ प्रतिशतले घट्दा उनले उद्योगीका पक्षमा सशक्त आवाज उठाएका थिए। नेपालमा सञ्चालित करिब ८० वटा प्लाईउड उद्योगमध्ये ५० वटाले भारतमा निर्यात गर्दै आएका छन्, जसले २५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन्।
व्यावसायिकतासँगै वातावरण संरक्षणमा पनि घिमिरेको विशेष रुचि रहेको छ। उनले नेपाली प्लाईउडलाई पर्यावरणमैत्री र सामुदायिक वन तथा किसानका उत्पादनमा आधारित उद्योगका रूपमा प्रवद्र्धन गर्दै आएका छन्। उनी आफैं पनि १५ बिघाभन्दा बढी जग्गामा व्यावसायिक वृक्षारोपणमा संलग्न छन्।
सन् २०२२ मा धुलिखेलमा सम्पन्न संघको २३औँ साधारणसभाबाट अध्यक्ष निर्वाचित भएपछि उनको कार्यकालमा ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी’ जस्ता ठूला कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
लामो समयदेखि महासंघका विभिन्न समितिमा रहेर कार्यसम्पादन गरिसकेका घिमिरेले यस पटक वस्तुगततर्फको कार्यकारिणी सदस्यमा निर्वाचित भएर समग्र उद्योगी र विशेष गरी उत्पादनमूलक क्षेत्रको समस्यालाई महासंघको माथिल्लो तहसम्म पुर्याउने लक्ष्य राखेका छन्।































प्रतिक्रिया