व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी

व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी

केन्द्रबिन्दु
6
Shares

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारीका रामसिंह डगौरा व्यावसायिक तरकारीखेतीमार्फत परिवारको आर्थिक अवस्था मजबुत बनाउँदै छोराछोरीको शिक्षामा लगानी गर्दै आएका छन् ।

उनले श्रीकृष्ण माध्यमिक विद्यालयको करिब डेढ बिघा जग्गा भाडामा लिएर विगत सात वर्षदेखि तरकारीखेती गर्दै आएका छन् । जग्गा भाडाबापत वार्षिक रु ५५ हजार बुझाउने गरेका छन् ।

डगौराका अनुसार बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट मासिक रु ५० देखि ७० हजारसम्म आम्दानी हुने गरेको छ भने वार्षिक आम्दानी रु १० लाखभन्दा बढी पुगेको छ । उनको बारीमा मुला, तोरैया, खुर्सानी, फर्सी, लौका, काँक्रा, बोडी, करेला, धनियाँ, बन्दा, सिमला मिर्च र गोलभेँडालगायत तरकारी उत्पादन हुँदै आएको छ ।

तरकारीखेती विस्तारका लागि उनले बैंकबाट रु १० लाख कर्जा लिएका छन् । यही आम्दानीबाट तीन जना छोराछोरीको उच्च शिक्षा, श्रीमतीको उपचार, बैंक ऋणको किस्ता तथा घरखर्च व्यवस्थापन भइरहेको छ । “आम्दानीको आधाभन्दा बढी रकम छोराछोरीको पढाइमा खर्च हुन्छ,” उनले भने, “सन्तानको भविष्य राम्रो बन्यो भने सम्पत्ति आफैँ जोडिन्छ भन्ने सोच छ, त्यसैले शिक्षामा नै बढी लगानी गर्छु ।”

उनकी एक छोरी आइएस्सी एजी उत्तीर्ण गरी काठमाडौँमा लोकसेवा तयारी गरिरहेकी छिन् भने छोरा र अर्की छोरी होटल व्यवस्थापन विषयमा अध्ययनरत छन् । उत्पादन भएको तरकारी अधिकांश बारीबाटै बिक्री हुने गरेको छ भने बाँकी महेन्द्रनगर बजारमा लगेर बिक्री गरिन्छ । तरकारीसँगै डगौराले नर्सरीमा बिरुवा उत्पादन गरी बिक्री गर्ने काम पनि गर्दै आएका छन्, जसबाट यस वर्ष मात्रै रु दुई लाख ५० हजार आम्दानी भएको छ ।

कृषि ज्ञान केन्द्रमार्फत उनले दुईवटा हाइटेक प्लास्टिक टनेल, बीउबिजन तथा सिँचाइ पाइप अनुदानमा प्राप्त गरेका छन् । उनले व्यावसायिक किसानलाई राज्यबाट अझ प्रभावकारी सहयोग आवश्यक रहेको बताएका छन् । “सहुलियत दरमा कर्जा, समयमा मल, बीउबिजन र कीटनाशक उपलब्ध भए उत्पादन अझ बढाउन सकिन्छ,” उनले भने, “तर आवश्यक सामग्री समयमै नपाउँदा अपेक्षित उत्पादन गर्न कठिन भइरहेको छ ।”

व्यावसायिक तरकारीखेतीले आम्दानीसँगै रोजगारी र आत्मनिर्भरता बढाउने उदाहरणका रूपमा डगौरा देखिएका छन् ।

Logo