रकम नतिर्नेमा हेलिकप्टर कम्पनी पनि उस्तै, ५४ लाख बक्यौता

रकम नतिर्नेमा हेलिकप्टर कम्पनी पनि उस्तै, ५४ लाख बक्यौता

केन्द्रबिन्दु
0
Shares

– रमेश लम्सालरसिबी अधिकारी

काठमाडौँ, ५ माघ । आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन् ।

आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर कम्पनीले सेवा पुर्‍याइरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार आठ हेलिकप्टर कम्पनीले बुझाउनुपर्ने रकम बुझाउन नमानेका हुन् ।

उड्डयन कार्यालयका अनुसार श्री एयर, सिम्रिक एयरको समान १८ लाखभन्दा बढी बक्यौता रहेको छ । श्री एयरको १८ लाख ९९ हजार ५ सय ७८ बाँकी रहेको छ । सिम्रिक एयरको १८ लाख २९ हजार ७ सय ४३ रकम तिर्न बाँकी रहेको छ ।

यस्तै एयर डायनास्टिकको २६ हजार ३ सय ६३, प्रभु हेलिकप्टरको १६ हजार ६ सय ६९, माउण्टेन हेलिकप्टरको ९ लाख ५ हजार २ सय ९०, मनाङ एयरको ९१ हजार ३ सय २२, फिस्टेल एयरको ३ लाख ६४ हजार ३ सय ६५ रुपैंया बाँकी रहेको छ ।

आन्तरिक र अन्तर्रास्ट्रिय उडानमा रहेका विभिन्न वायु सेवा कम्पनीले ६६ करोड ३९ लाख ४६ हजार ३ सय ७ रुपैंया बक्यौता तिर्न बाँकी रहेको छ ।

बढी बक्यौता रहेको श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले विमानस्थलमा रहेको बिलिङ प्रणालीमा रहेको कमजोरीका कारण बक्यौता रकम देखिएको बताए ।

‘हामी बक्यौता रकम तिर्न तयार छौँ, विमानस्थल कार्यालयले आफ्नो प्रणालीलाई व्यवस्थित गर्न नसक्दा समस्या भएको छ, हाम्रो नतिर्ने नियत होइन’, उनले भने । सो एयरको आठ वटा हेलिकप्टर सञ्चालनमा छन् । त्यसमा रसियामा निर्मित एमआई १७ हेलिकप्टर ६ वटा छन् भने साना दुई वटा हेलिकप्टर सञ्चालनमा रहेका छन् ।

विमानस्थल कार्यालयमा सधैँजसो बदलिने प्रमुख तथा कर्मचारीका कारण पनि आफूहरुलाई समस्या परेको जानकारी दिँदै उनले नियमावलीअनुसार पैसा उठाउनुपर्ने बताए ।

यस्तै बढी बक्यौता रहेको सिम्रिक एयरका अपरेशनल म्यानेजर रमेशमान बज्राचार्यले बक्यौता रकम तिर्न कुनै समस्या नभएको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले ताकेता गरेपछि रकम तिर्ने प्रक्रियामा लागेको र छिट्टै रकम बुझाउने उनको भनाइ छ ।

‘पुरानो बक्यौता तिर्न बाँकी रहेको हो, हामी छिट्टै प्राधिकरणलाई रकम बुझाउँछौँ, रकम बुझाउन पनि प्राधिकरणले सहजीकरण गरिदिनुपर्छ’, बज्राचार्यले भने ।

प्राधिकरणले बक्यौता रकम उठाउन वायुसेवा प्रदायक कम्पनीलाई ताकेता गरेपछि विगतमा अटेर गर्दै आएका समेत रकम तिर्न तयार भएका छन् ।

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले पुरानो बक्यौता तिर्न बाँकी रहेको भए पनि आफूहरु तिर्न तयार रहेको बर्ता । उनले प्राधिकरणले तिर्न आग्रह गरेपछि सबै वायु सेवा प्रदायक कम्पनीले रकम तिर्नु दायित्वभित्रै पर्ने विषय भएकाले संघको तर्फबाट सहजीकरण गरिने बताए ।

तीन–तीन महिनामा बिल आउने भएकाले केही बढी रकम देखिन सक्ने भए पनि बिलअनुसारको रकम तिर्नु नै पर्ने बताए । बिलिङ प्रणालीमा रहेको समस्याका कारण पनि केही बढी रकम देखिएको प्रवक्ता आचार्यको भनाइ छ ।

बन्द भएका विमान कम्पनीको ११ करोड बढी बक्यौता रकम रहेको र सञ्चालनमा नै रहेका कम्पनीको ६६ करोड बक्यौता रहेको सन्दर्भमा हेलिकप्टर कम्पनीको पनि बक्यौता देखिएको हो ।

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कुनै पनि वायु सेवा प्रदायकलाई छुट दिन नसकिने र उनीहरुबाट बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिए ।

बक्यौता रकम उठाउन प्राधिकरणले एक छानबिन समितिसमेत गठन गरिसकेको छ ।

Logo