मुस्ताङ। घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल संरक्षण र बजारीकरणका लागि उक्त संरचना निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०८१/८२ का लागि प्राप्त विशेष अनुदानबाट करिब रु ५९ लाख लागतमा ३० मेट्रिक टन क्षमताको चिस्यान गृह निर्माण गरिएको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्रबहादुर बमले जानकारी दिएका छन् । ठिनी क्षेत्रमा १०–१० मेट्रिक टन क्षमताका तीन वटा चिस्यान गृह निर्माण गरिएको हो ।
वडाध्यक्ष प्रदीप थकालीका अनुसार स्थानीय किसानले उत्पादन गरेको स्याउ अब सङ्कलन गरी सहकारीमार्फत चिस्यान गृहमा भण्डारण गरिनेछ । यसले स्याउलाई बेमौसममा पनि ताजा रूपमा उपलब्ध गराउन र मूल्य वृद्धि गरेर बिक्री गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मुस्ताङको स्याउ बजारमा पहिल्यै माग भए पनि बेमौसममा उपलब्ध नहुँदा पर्यटक तथा उपभोक्ताले ताजा स्याउ चाख्न नपाउने समस्या थियो । अब चिस्यान गृह सञ्चालनसँगै पर्यटकलाई कोसेलीका रूपमा स्याउ बिक्री गर्न र किसानलाई अतिरिक्त आम्दानी बढाउन सहज हुने बताइएको छ ।
यस संरचनाबाट ठिनी गाउँका करिब १०० किसान प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । साथै, गाउँपालिकाले स्याउ सङ्कलन, ग्रेडिङ, प्याकेजिङ र बजारीकरणका लागि आवश्यक पूर्वाधार विकासलाई पनि निरन्तरता दिएको छ ।





























प्रतिक्रिया