काठमाडौं। पेट्रोलियम पदार्थको लगातार मूल्यवृद्धिविरुद्ध उज्यालो नेपाल पार्टी खुलेर सरकारविरुद्ध उत्रिएको छ। इन्धन महँगिँदा जनताको दैनिक जीवनदेखि उद्योग–व्यवसायसम्म प्रत्यक्ष असर परेको भन्दै पार्टीले सरकारसमक्ष ६ बुँदे माग पेश गर्दै तत्काल हस्तक्षेप गर्न चेतावनी दिएको हो।
पार्टीका अनुसार इन्धनको भाउ बढ्नु केवल पम्पसम्म सीमित विषय होइन—यसले ढुवानी, कृषि, बजार भाउ र घरखर्चसम्म श्रृंखलाबद्ध असर पुर्याउँछ। एकपटक बढेको मूल्य फेरि घट्दा पनि बजार नघट्ने प्रवृत्तिले महँगी स्थायी बन्ने खतरा बढेको उनीहरूको तर्क छ।
विशेषगरी नेपाल र भारतबीचको ठूलो मूल्य अन्तरले सीमावर्ती क्षेत्रमा अवैध कारोबार र चोरीपैठारी बढाउने जोखिम रहेको पार्टीले औँल्याएको छ। हाल काठमाडौंमा पेट्रोल र डिजेलको मूल्य भारतको सीमावर्ती बजारभन्दा निकै महँगो रहेको तथ्य प्रस्तुत गर्दै यसले राजस्वमै नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ।
यही पृष्ठभूमिमा उज्यालो नेपालले कर घटाउनेदेखि मूल्य स्थिरता कोष प्रयोग, सीमावर्ती मूल्य समानीकरण, कडाइका साथ अनुगमन र वैकल्पिक ऊर्जामा सहुलियतसम्मका उपाय अघि सारेको छ। साथै, आयल निगमको मूल्य निर्धारण प्रक्रिया पारदर्शी बनाउन पनि माग गरिएको छ।





























प्रतिक्रिया