इलामको जस्बिरे चियाले विश्व बजार हल्लाउँदै-प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात!

इलामको जस्बिरे चियाले विश्व बजार हल्लाउँदै-प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात!

केन्द्रबिन्दु
18
Shares

इलाम । मेहनत, परिवारिक समर्पण र दीर्घ संघर्षको कथा बोकेको ‘जस्बिरे चिया’ अहिले नेपाली अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा उदाएको छ।

इलाम नगरपालिका–४ स्थित सुब्बा परिवारद्वारा सञ्चालित जस्बिरे चिया प्रशोधन उद्योगले अहिले अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड्स र जर्मनीसम्म आफ्नो उत्पादन निर्यात गर्न सफल भएको छ। केही विशेष प्रजातिका ‘स्पेशल टी’ को मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी १ लाख रुपैयाँसम्म पुगेको सञ्चालकहरूले बताएका छन्।

विसं २०४२ मा स्वर्गीय भैरव रिसालले स्थानीयलाई चिया खेतीतर्फ प्रेरित गरेपछि सुरु भएको यो यात्रा आज चार भाइको संयुक्त मेहनतमा ठूलो औद्योगिक ब्रान्डमा रूपान्तरण भएको हो। सुरुमा १४ लाख रुपैयाँबाट सुरु भएको उद्योग अहिले करिब ८ करोड रुपैयाँको लगानीसम्म पुगेको छ।

उद्योगले हाल ६० रोपनी आफ्नै र ४ सय रोपनी भाडाको जमिनमा चिया खेती गर्दै आएको छ भने १८५ भन्दा बढी स्थानीय घरपरिवारबाट समेत कच्चा चिया खरिद गर्दै आएको छ। वार्षिक ३० हजार केजी उत्पादन हुँदै आएको चियालाई आगामी वर्ष १ लाख केजी पुर्‍याउने लक्ष्य राखिएको छ।

तर सफलता सहज भने रहेन। २०८१ फागुनमा भएको भीषण आगलागीले करिब ८ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याए पनि परिवार पुनः उठेर उत्पादन र बजार विस्तारमा जुटिरहेको छ।

नगर प्रमुखका अनुसार जस्बिरे चिया उद्योग जिल्लाकै सफल र प्रेरणादायी उद्यम हो। उद्योग सञ्चालकहरूले भने सरकारले अनुदानभन्दा पनि अन्तर्राष्ट्रिय बजार पहुँचमा सहयोग गरे नेपाली चिया अझै विश्व बजारमा मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

Skip This
Skip This
Logo