काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिमा होटल व्यवसायी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उनले होटल व्यवसायले रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेलिरहेको उल्लेख गरे ।
उनका अनुसार व्यवसायसँगै राजनीति र समाजलाई पनि सन्तुलित रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ । “पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो जीविकोपार्जनका लागि कुनै न कुनै व्यवसायसँग जोडिनु आवश्यक छ,” उनले भने ।
महामन्त्री घिमिरेले पार्टीको आगामी १५औँ महाधिवेशन समयमै सम्पन्न गर्ने र निर्वाचनमा कांग्रेसलाई सफल बनाउने लक्ष्य रहेको जानकारी पनि दिए । उनले शुभेच्छुक संस्थाका प्रतिनिधिलाई पार्टीको मूलधार राजनीतिमा प्रवेश गर्न सक्ने व्यवस्था गरिएको बताए ।
कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि होटल व्यवसायलाई रोजगारी र अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्न राज्यले विशेष नीति लिनुपर्नेमा जोड दिए । व्यवसायीहरूले होटल क्षेत्रलाई उद्योगको मान्यता दिँदै संरक्षण र प्रोत्साहन आवश्यक रहेको धारणा राखे ।
होटल व्यवसायी महासङ्घका प्रतिनिधिहरूले मुलुकको पर्यटन क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सरकार र राजनीतिक दलहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
यसैबीच कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अच्युत रेग्मीलाई दीर्घ पत्रकारिता योगदानको कदरस्वरूप सम्मान गरिएको थियो ।































प्रतिक्रिया