नवलपरासी। बुलिङटार गाउँपालिकाका केही पहाडी बस्तीमा विद्युत्का पोल र तार पुगे पनि अझै बिजुली बाल्न नपाइएको छ।
अर्खला, देउरालीलगायत गाउँमा विद्युत् संरचना निर्माण भएको एक वर्षभन्दा बढी भए पनि वितरण सुरु हुन सकेको छैन। केही स्थानमा त मिटर जडानका लागि शुल्क तिरेको लामो समय भइसकेको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार अहिले पनि धेरै गाउँ लघु जलविद्युत्मा भर पर्नुपरेको छ। तर त्यो पनि सीमित क्षमताको भएकाले दैनिक आवश्यकता पूरा गर्न गाह्रो भइरहेको छ।
वडाध्यक्षका अनुसार दिनभर केन्द्रको बिजुली आउने प्रतीक्षामै समय बित्ने गरेको छ। कार्यालय सेवा पनि प्रभावित भएको छ, सौर्य ऊर्जाले मात्र सबै काम चलाउन कठिन भइरहेको छ।
विद्युत् वितरण कार्यालयका अनुसार ठेकेदारको ढिलाइ र लापरबाहीका कारण काम समयमै पूरा हुन नसकेको हो। केही स्थानमा पहिरोले पोलमा क्षति पनि पुर्याएको छ।
सरकारको ‘उज्यालो प्रदेश’ कार्यक्रमअन्तर्गत सुरु भएको परियोजना भए पनि ढिलाइका कारण अझै गाउँ अँध्यारोमै छन्। कार्यालयले भने काम चाँडै पूरा गरी बिजुली पुर्याउने दाबी गरेको छ।





























प्रतिक्रिया