रुपन्देही। अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको मकै प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले रोहिणी गाउँपालिका–२ मैनिहवाबाट ६० क्विन्टल मकैसहित दुईवटा जिप नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा लु१ज ४६१० र लु१ज २९२५ नम्बरका जिपमा लोड गरेर लैजाँदै गरेको अवस्थामा मकै फेला परेको थियो।
बरामद मकै र सवारीसाधनको कुल मूल्य करिब २१ लाख ५० हजार रुपैयाँ बराबर हुने अनुमान गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका–७ का ३३ वर्षीय दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































