१० वर्षपछि चमेलिया बन्यो, माघ ६ बाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने

१० वर्षपछि चमेलिया बन्यो, माघ ६ बाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २७ पुस ।

दार्चुलाको सिखरमा रहेको ३० मेगावाटको जलविद्युत आयोजनाले आफ्नो नियमित उत्पादन माघ ६ गतेबाट गर्ने भएको छ । सन् २००७ बाट निर्माण थालिएको यस जलविद्युतबाट उत्पादित विद्युत शुक्रबारबाट राष्ट्रिय प्रसारणलाइनमा जोडन लागिएको हो ।

आयोजना प्रमुख अजय दाहालका अनुसार शुक्रबार देखि यसको एउटा युनिटबाट उत्पादीत बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिेनछ । यस जलविद्युत आयोजनामा १५ मेगावाटका २ वटा युनिट छन् । अर्काे युनिट भने अबको १ महिनापछिबाट मात्रै सञ्चालन आउनेछ ।

१० वर्ष अघिबाट निर्माण सुरु गर्दा यो आयोजना ८ अर्बमा निर्माण गर्ने भनिएको थियो । तर समयमै निर्माण सम्पन्न गर्न नसक्दा यो आयोजनाको लागत दोब्बरले बढेर १५ अर्ब पुग्न गएको छ ।

‘पिकिङ रन अफ दि रिभर भएकाले हामीले ६ घन्टा अहिले पनि एउटा युनिटमा १५ मेगावाट बराबरको बिद्युत उत्पादन गर्न सक्छौै, जुन विजुलीलाई शुक्रबारबाट हामीले राष्ट्रिय प्रसारणलाइनमा जोड्नेछौं,’ दाहालले भने ।

६ दिनको लोड रिजेक्सन र ३ दिनको रिलायबिलिटी टेस्ट गरेपछि यसले नियमित उत्पादन थाल्नेछ । कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो ।

संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै बीचैमा काम रोक्न निर्देशन दिएको हो । सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो । यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ ।

स्थानीयले उपभोग गर्न नपाउने

विद्युत् प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका स्थानीयले तत्काल उपभोग गर्न नपाउने भएका छन् । प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट दार्चुला जिल्लाबासी नै भएका हुन् ।

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युतको पहिलो अधिकार भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयले बिजुली उपभोग गर्न पाउने अवस्था छैन । ‘चमेलियाको बिजुलीको उपभोगमा पहिलो प्राथमिकता दार्चुला बैतडीलाई हुन्छ । त्यसपछि अन्य जिल्लालाई हुनुपर्छ,’ शैल्यशिखरका स्थानीय राहुल विष्टले भने, ‘स्थानीयस्तरमा प्रसारण लाइन निर्माण हुन नसक्दा तत्काललाई यो सुविधा उपभोग गर्न पाउने स्थिति देखिएन ।’

महाकाली नगरपालिका ७ थालीगाडमा चमेलियाको विद्युत् दार्चुलाका विभिन्न ठाउँमा वितरण गर्नका लागि सबस्टेसन निर्माण हुँदै छ । सबस्टेसनको हाल कन्ट्रोल हाउस र ट्रान्सफर्मर स्विचलगायतका इक्विपमेन्ट राख्ने संरचना निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका इन्जिनियर चिजबहादुर गुरुङले बताए । झन्डै ७ करोडको लागतमा निर्माण भइरहेको उक्त संरचना चालु आवको अन्तसम्म बनाइने उनले जानकारी दिए ।

क्षेत्रीय कार्यालयले नै निर्माण गरिरहेको २५ किलोमिटर गोकुलेश्वर थालीगाड ३३ केभी प्रसारण लाइनमा स्थानीयको अवरोधले निर्माण कार्य रोकिएको छ । ‘स्थानीयस्तरमा चमेलियाको विद्युत् दार्चुलामा वितरण गर्न बलाचमा सबस्टेसन निर्माण भइसकेको छ,’ आयोजना प्रमुख दाहालले भने, ‘प्रसारण लाइन निर्माण गरेर जहिले पनि उपभोग गर्न सकिन्छ । दार्चुला र बैतडीमा प्रसारण लाइन र सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको हुनाले यहाँका स्थानीयहरूले पनि अब छिट्टै चमेलियाको बिजुली उपभोग गर्नेछन ।’

Logo