काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई०)को ६०औं वार्षिक साधारणसभा आजबाट सुरु हुँदैछ। आज उद्घाटन सत्र र बन्द सत्र हुनेछ भने भोलि निर्वाचन हुने कार्यतालिका रहेको छ ।
गत चैत २९ र ३० गतेका लागि तय भएको साधारणसभा अदालतको आदेशका कारण वैशाख २१ र २२ का लागि सरेको हो। उद्घाटन सत्र ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा हुनेछ भने निर्वाचन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेभएको छ ।
महासंघको विधानअनुसार साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ महासंघको अध्यक्ष बन्नेछन्। नयाँ संशोधित विधानअनुसार अञ्जन श्रेष्ठको कार्यकालपछि अध्यक्ष पदमा पनि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ। त्यसैले श्रेष्ठ स्वतः अध्यक्ष बन्ने प्रावधानअन्तर्गत नेतृत्व सम्हाल्ने अन्तिम व्यक्ति हुनेछन्।
यस पटकको निर्वाचनमा कार्यसमितिका विभिन्न पदहरूमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। महासंघको ७३ सदस्यीय नयाँ कार्यसमितिका लागि १३७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। देशभरका २ हजार १५३ जना मतदाताले यस निर्वाचनमा भाग लिनेछन्।
विशेषगरी वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। अब महासंघमा दुई जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ भने महिला सहभागितालाई सुनिश्चित गर्न थप एक महिला उपाध्यक्षको पद पनि सिर्जना गरिएको छ।




















