काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ ।
गत चैत २९ र ३० गतेका लागि तय भएपनि साधारणसभा अदालतको आदेशका कारण वैशाख २१ र २२ का लागि सरेको थियो । महासंघको विधानअनुसार साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ महासंघको अध्यक्ष बन्नेछन ।
नयाँ संशोधित विधानअनुसार अञ्जन श्रेष्ठको कार्यकालपछि अध्यक्ष पदमा पनि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ । त्यसैले श्रेष्ठ स्वतः अध्यक्ष बन्ने प्रावधानअन्तर्गत नेतृत्व सम्हाल्ने अन्तिम व्यक्ति हुनेछन् ।
यस पटकको निर्वाचनमा कार्यसमितिका विभिन्न पदहरूमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । महासंघको ७३ सदस्यीय नयाँ कार्यसमितिका लागि १३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । देशभरका २ हजार १५३ जना मतदाताले यस निर्वाचनमा भाग लिनेछन् ।
विशेषगरी वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। अब महासंघमा दुई जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ भने महिला सहभागितालाई सुनिश्चित गर्न थप एक महिला उपाध्यक्षको पद पनि सिर्जना गरिएको छ । आज बिहान ८ बजेदेखि साझ ४ बजे मतदान समय तोकिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा मतदान सकिएसँगै मतगणना हुने जानकारी गराइएको छ ।




















