महासंघको कार्यकारिणी सदस्यमा ईश्वरबहादुर जीसी निर्वाचित, खेल क्षेत्रलाई ‘उद्योग’ बनाउने लक्ष्य

महासंघको कार्यकारिणी सदस्यमा ईश्वरबहादुर जीसी निर्वाचित, खेल क्षेत्रलाई ‘उद्योग’ बनाउने लक्ष्य

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएटतर्फको कार्यकारिणी सदस्यमा ईश्वरबहादुर जीसी निर्वाचित भएका छन्। महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनमा प्रवलजंग पाण्डे नेतृत्वकाे प्यानलबाट उनी आगामी कार्यकालका लागि कार्यसमिति सदस्यमा चुनिएका हुन्।

महासंघभित्र करिब ६ वर्षदेखि सक्रिय जीसीले यसअघि उद्योग समितिको सदस्य र पछिल्लो तीन वर्ष लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध फोरममा सह-सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। निर्वाचनमा विजयी भएपछि उनले सम्पूर्ण उद्योगी, व्यवसायी, अग्रज तथा सहकर्मीहरूप्रति आभार व्यक्त गर्दै निजी क्षेत्रको हितमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएका छन्।

आफ्नो नयाँ कार्यकालका लागि जीसीले एक नवीन र महत्वाकांक्षी एजेन्डा अघि सारेका छन्। स्वास्थ्य पर्यटन, खेलकुद र उत्पादनमूलक क्षेत्रको नेतृत्व सम्हालेको अनुभवका आधारमा उनले नेपालमा ‘खेल क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने’ स्पष्ट लक्ष्य राखेका छन्।

जीसीले खेलकुदलाई केवल मनोरञ्जनको साधन मात्र नभई एउटा बलियो व्यवसायिक ‘इकोसिस्टम’का रूपमा व्याख्या गरेका छन्। खेल क्षेत्रले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, उत्पादन र सेवा क्षेत्रलाई एकीकृत गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत ठूलो भूमिका खेल्न सक्ने उनको ठम्याइ छ।

“खेल क्षेत्रले सम्पूर्ण व्यवसायिक चक्रलाई एकीकृत गर्दै देशलाई विश्वस्तरमा चिनाउन सक्छ,” उनले भनेका छन्, “त्यसैले खेलकुदलाई व्यवस्थित, व्यावसायिक र दीगो उद्योगको रूपमा स्थापित गर्नु नै मेरो प्राथमिक एजेन्डा रहनेछ।” उत्पादनमूलक कम्पनी र मनोरञ्जन क्षेत्रको अनुभवलाई उपयोग गर्दै उनले महासंघमार्फत नीतिगत सुधार र व्यावसायिक वातावरण निर्माणमा जोड दिने बताएका छन्।

Logo