पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनामा ठूलो पैमानाको भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार दायर गरेको आरोपपत्रमा उनीहरूसँग ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो असुल उपर गर्न माग दाबी गरेको छ । यो पोखरा विमानस्थलसँग सम्बन्धित तेस्रो भ्रष्टाचार मुद्दा हो ।

अख्तियारका अनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी China CAMC Engineering Co. Ltd.बीच भएको मूल खरिद सम्झौतामा निर्माण लागतभित्रै कर, महसुल तथा अन्य शुल्क समावेश थिए । ठेकेदार कम्पनीले नै यी दायित्व बेहोर्नुपर्ने प्रावधान थियो ।

तर, सरकारी अधिकारीहरूको मिलेमतोमा उक्त सम्झौताविपरीत कार्यान्वयन सम्झौता तयार गरी कम्पनीलाई कर छुट दिइएको आयोगको निष्कर्ष छ । यसबाट कम्पनीले निर्माण लागतमा समावेश भएको करसमेत भुक्तानी लिएर दोहोरो लाभ उठायो भने राज्यकोषमा कर दाखिला भएन ।

आयोगले यो प्रकरणलाई हिनामिना, हानिनोक्सानी र दुरुपयोग मानेको छ । उक्त रकम नेपाल सरकारले ऋणस्वरूप प्राप्त सार्वजनिक सम्पत्तिबाट गएको जनाइएको छ ।

प्रतिवादीहरू
अख्तियारले दायर गरेको मुद्दामा निम्न व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ:
१. ज्ञानेन्द्रबहादुर कार्की — तत्कालीन अर्थमन्त्री
२. शंकर प्रसाद अधिकारी — तत्कालीन सचिव, अर्थ मन्त्रालय
३. महेश्वर न्यौपाने — तत्कालीन सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
४. केवल प्रसाद भण्डारी — तत्कालीन सहसचिव, अर्थ मन्त्रालय
५. सुरेश आचार्य — तत्कालीन सहसचिव, पर्यटन मन्त्रालय
६. डण्डुराज घिमिरे — तत्कालीन सहसचिव
७. सञ्जीव गौतम — तत्कालीन महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
८. प्रदीप अधिकारी — तत्कालीन आयोजना निर्देशक, राष्ट्रिय गौरव आयोजना
९. योगेश अर्याल — तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर, पर्यटन मन्त्रालय
१०. युगराज पाण्डे — तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
११. उर्मिला भण्डारी — शाखा अधिकृत, अर्थ मन्त्रालय

चिनियाँ पक्ष:
China CAMC Engineering Co. Ltd.
वाङ बो (Wang Bo) — अध्यक्ष
याङ झिगाङ (Yang Zhigang) — प्रोजेक्ट म्यानेजर

योसँगै पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारले तीन वटा मुद्दा दायर गरेको छ। यसअघिका दुई मुद्दामा पाँच जना पूर्वमन्त्रीहरू (भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी) जोडिएका थिए। बोगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको थियो । कार्कीको नाम जोडिएसँगै यो प्रकरणमा भ्रष्टाचार मुद्दा लाग्ने पूर्वमन्त्रीहरूको संख्या ६ पुगेको छ ।

अख्तियारले सबै प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगो बराबरको जरिवाना र बिगो असुल उपरको माग गरेको छ । विशेष अदालतले अब यो मुद्दाको प्रारम्भिक सुनुवाई अघि बढाउने छ ।

Logo