काठमाडौं ।
देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच पनि आजबाट पर्यटक बससेवा सुरु गरेको छ । देशदर्शनले १२ करोड रुपैंयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले आज (शनिबार) देखि सेवा सूचारु गरेको हो । देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बस सेवा दिने गरी पर्यटन बस सूचारु गरिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले बताएका छन् ।
देशका मुख्य मुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रीकालिन बससेवा सञ्चालन गरेकाले पर्यटन विकासमा महत्वपूर्ण हुने पनि उनले बताए । काठमाडौं–पोखरा, काठमाडौं–जनकपुर, काठमाडौं–वीरगञ्ज, काठमाडौं–लुम्बिनी, काठमाडौं–चितवन, र चितवन–पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास पनि गुरागाईंले व्यक्त गरे । उनले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारी स्तरबाटै सहयोग हुनु पर्ने पनि बताए ।
कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गरि यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । देशदर्शनले शुभारम्भको एक साता सम्म काठमाडौँदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ।





























प्रतिक्रिया