काठमाडौं । स्वदेशमै उत्पादन हुँदै आएका प्रसिद्ध ब्याट्री ब्रान्डहरू एसटीसी राइड तथा एसटीसी एनर्जीले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन उत्कृष्ट खेलाडीहरूलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
राष्ट्रिय टोलीका खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई र दीपा शाहीलाई एसटीसी इनर्जी इन्डस्ट्रिजले ब्रान्ड एम्बेसडर बनाएको हो ।
बुधबार अखिल नेपाल फुटबल सङ्घको परिसरमा आयोजित विशेष कार्यक्रममा खेलाडीहरू र कम्पनीबीच औपचारिक सम्झौता भएकाे हाे । सम्झौताअनुसार राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड खेलाडी रेखा पौडेलले एसटिसी राइडको प्रतिनिधित्व गर्नेछिन् भने मनमाया दमाई र दीपा शाहीले एसटिसी इनर्जीको प्रतिनिधित्व गर्नेछन्।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपाली महिला फुटबलले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै खेलाडीहरूको योगदानको प्रशंसा गरेका थिए। उनीहरूका अनुसार तीनै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनीहरूको मेहनत, अनुशासन, समर्पण र खेलप्रतिको लगावले नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ठूलो मद्दत पुगेको कम्पनीको भनाइ थियो।
राष्ट्रिय टोलीकी चर्चित खेलाडी रेखा पौडेलले नेपाली खेलाडीप्रति निजी क्षेत्रको चासो र सहयोग बढ्दै जानु सकारात्मक विषय भएको बताइन्। उनले खेलकुद क्षेत्रमा खेलाडीहरूको मनोबल बढाउन यस्ता सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्। उनले देशभित्रै उत्पादन भएका सामग्रीको प्रवद्र्धनमा आफू जोडिन पाउँदा खुसी लागेको पनि बताइन्।

त्यसैगरी मनमाया दमाई र दीपा शाहीले पनि नेपाली खेलाडीलाई सम्मान गर्दै अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए । उनीहरूले खेलकुद क्षेत्रलाई सशक्त बनाउन निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शनमार्फत देशको नाम उज्यालो बनाउने प्रतिबद्धता जनाए।
कम्पनीका अनुसार एसटिसी समूहअन्तर्गत उत्पादन हुँदै आएका एसटिसी राइड र एसटिसी इनर्जी पूर्ण रूपमा नेपालमै निर्मित उत्पादन हुन्। नेपाली सडक, हावापानी तथा उपभोक्ताको आवश्यकता अनुसार तयार गरिएका यी ब्याट्रीहरू उच्च कार्यक्षमता, टिकाउपन र गुणस्तरका दृष्टिले प्रभावकारी रहेको दाबी गरिएको छ। कम्पनीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै नेपाली बजारमा गुणस्तरीय सामग्री उपलब्ध गराउने लक्ष्यका साथ काम गर्दै आएको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसटिसी समूहका प्रवन्ध निर्देशक तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाली खेलाडीहरू राष्ट्रका गौरव भएको बताए। उनले खेलकुद क्षेत्रले युवापुस्तालाई अनुशासन, मेहनत र सकारात्मक दिशातर्फ प्रेरित गर्ने भएकाले खेलाडीहरूलाई प्रोत्साहन गर्नु सबैको दायित्व भएको धारणा राखे।
राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नेपाली प्रतिभालाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका पदाधिकारी, खेलकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले नेपाली खेलाडी र स्वदेशी उत्पादनबीचको सहकार्यले खेलकुद तथा उद्योग दुवै क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।































प्रतिक्रिया