बीवाइडी सवारी आयात कानुनसम्मत भएको दाबी, आरोप निराधार रहेको प्रष्टीकरण

बीवाइडी सवारी आयात कानुनसम्मत भएको दाबी, आरोप निराधार रहेको प्रष्टीकरण

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । बीवाइडी विद्युतीय सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले हालै सार्वजनिक वृत्त तथा विभिन्न सञ्चारमाध्यममा आएका आयातसम्बन्धी चर्चाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका बीवाइडी सवारीसाधनहरू प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा निर्धारित प्रक्रियाअनुसार नै आयात गरिएको स्पष्ट पारेको हो।

साइमेक्सका अनुसार २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा पुगेका भए पनि ती सवारीसाधनको भन्सार जाँचपास प्रक्रिया हालसम्म सम्पन्न भएको छैन। कम्पनीले विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू भने कानुनी प्रक्रिया पूरा गरेर मात्रै नेपाल भित्र्याइएको जनाएको छ।

कम्पनीले कुनै विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गर्दै त्यस्तो कुनै सुविधा मागसमेत नगरेको स्पष्ट पारेको छ। ग्राहकबाट प्राप्त पूर्वबुकिङ तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न नियमित व्यावसायिक योजनाअनुसार सवारी आयात गरिएको कम्पनीको भनाइ छ।

विज्ञप्तिमा बीवाइडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, मौज्दात व्यवस्थापन तथा अन्तर्राष्ट्रिय यातायातका चुनौतीलाई ध्यानमा राखेर आयात योजना बनाइएको उल्लेख गरिएको छ।

साथै, सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा अनुचित लाभ लिएको भन्ने आरोपलाई कम्पनीले पूर्णतः निराधार, असत्य तथा प्रतिष्ठामाथिको प्रहार भएको जनाएको छ।

साइमेक्स इन्कले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने बताउँदै आवश्यक परे आयात अभिलेख, भन्सार घोषणा विवरण, ढुवानी कागजात, सीमा प्रवेशसम्बन्धी अभिलेख, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी सम्पूर्ण दस्तावेज सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको जनाएको छ।

Logo