काठमाडौं । ई–कमर्स प्लाटफर्म दराज नेपालले दर्जनौं कर्मचारी कटौती गरेको छ। पछिल्लो दुई सातामा ३० जना कर्मचारी कटौतीमा परेका छन्। कम्पनीले यसलाई ‘नेतृत्व हस्तान्तरण योजना’ भने पनि यो क्षेत्रीय कर्मचारी कटौतीको हिस्सा भएको बुझिएको छ।
दराज समूहले समग्र दक्षिण एसियाली बजारमा आफ्नो संरचना छरितो बनाउन यो कदम चालेको बताउँदै आएको छ। पछिल्लो समय विश्वका ठूला प्रविधि कम्पनीले आफ्नो सञ्चालन खर्च घटाउन र कम्पनीलाई चुस्त बनाउन भन्दै एआईमा लगानी बढाएर ठूलो संख्यामा कर्मचारी कटौती गरिरहेका छन्।
दराज नेपालले कर्मचारी घटाएसँगै कम्पनीकी प्रबन्ध निर्देशक आँचल कुँवरले पदबाट राजीनामा दिएकी छन् । उनी आगामी १७ असारदेखि पदबाट बाहिरिनेछिन्। त्यसपछि उनले १६ पुससम्म सल्लाहकारका रूपमा काम गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कुँवरको स्थानमा हाल दराज बंगलादेशका प्रबन्ध निर्देशक रहेका बेन यीले कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । रतिश लुइँटेललाई मुख्य व्यावसायिक अधिकृत (सीसीओ) मा नियुक्त गरिएको छ ।
पछिल्लो दुई सातामा दराज नेपालबाट २५ देखि ३० जना कर्मचारी हटाइएको छ । सन् २०२६ को सुरुतिर ‘हायरिङ फ्रिज’ अर्थात् नयाँ भर्ती रोक्का गरिएदेखि नै कटौतीको सुरुवात भएको हालै निष्कासनमा परेका कम्पनीका एक उच्च अधिकारीले बताए ।
कम्पनीबाट बाहिरिएकी एक कर्मचारीका अनुसार उनलाई ‘पर्फमेन्स रिभ्यु’ वा कार्यसम्पादन समीक्षाका लागि मिटिङमा बोलाएर राजीनामा दिन लगाइएको थियो । उनले भनिन्, ‘मिटिङ रुमबाट बाहिर निस्कनुअघि नै ल्यापटप बुझाउनुपर्यो, सिस्टमका एक्सेसहरू काटियो।’ उनका अनुसार नयाँ संरचनामा आफ्नो पद आवश्यक नभएको भन्दै उनलाई कार्यालय छाड्न भनिएको थियो।
निष्कासनमै परेका अर्का कर्मचारीले भने कम्पनी घाटामा गएर ‘कोल्याप्स’ हुनुभन्दा खर्च कटौती गरेर संस्था जोगाउनु सही कदम भएको धारणा राखे। ‘म आफू पनि यस प्रक्रियामा परें भन्दैमा धेरै पूर्वाग्राही भएर यो गलत हो भन्न चाहन्नँ,’ उनले भने, ‘अघिल्लो सातासम्म कामको तारिफ गर्दै थिए, यो साता निस्किनुस् भने ।’
दराज नेपालले लेअफमा परेका कर्मचारीहरूलाई आर्थिक क्षतिपूर्तिसहितको ‘सेवा सुविधा प्याकेज’ दिएको छ । कम्पनी छाडेका कर्मचारीहरूका अनुसार यो सुविधा–प्याकेज मुख्यतया कर्मचारीले काम गरेको अवधिका आधारमा निर्धारण गरिएको छ । कटौतीमा परेका प्रत्येक कर्मचारीले न्यूनतम ३ महिनाको पूरा तलब बराबर रकम आधारभूत सुविधाका रूपमा पाएका छन्।
कर्मचारीले काम गरेको प्रत्येक एक वर्षबापत थप एक महिनाको तलब पाउने व्यवस्था गरिएको छ। कसैले कम्पनीमा ७ वर्ष काम गरेका छन् भने तिनले महिनाको पारिश्रमिक र ७ वर्षको थप ७ महिना गरी कुल १० महिनाको तलब बराबरको प्याकेज पाएका छन् ।
नेपालमा दराजका ग्राहक संख्या ३० लाखभन्दा बढी पुगेको कम्पनीले बताएको छ। कर्मचारीहरूको औपचारिक संख्या स्पष्ट रूपमा सार्वजनिक नगरिए पनि बाहिरिएका एक कर्मचारीका अनुसार १ सय ५० देखि २ सय जना पूर्णकालीन कर्मचारी छन्। थसिखेल र थापाथलीका कार्यालयमा धेरै कर्मचारी छन्। दैनिक ज्यालादारीमा काम गर्ने डेलिभरी र लजिस्टिक टिममा भने १ हजार ३ सयदेखि १ हजार ५ सय रहेको अनुमान छ ।
दराजले नेपालमा मात्र नभई दक्षिण एसियाका अन्य देशमा पनि कर्मचारी कटौती गरिरहेको छ । बंगलादेशमा ८० देखि ९० कर्मचारीलाई बिदा गरिएको छ । श्रीलंकामा पनि करिब ३० जना कर्मचारी निकालिएका छन् । पाकिस्तान र म्यानमारमा यस्तै अवस्था छ। सन् २०२४ को सुरुमा पनि दराज समूहले क्षेत्रीय रूपमै कर्मचारी कटौती गरेको थियो । त्यो बेला कम्पनीका कार्यवाहक सीईओ जेम्स जी डोङले बजारको चुनौती र वित्तीय लक्ष्य पूरा गर्न ‘छरितो र फूर्तिलो संरचना’ बनाउनु आवश्यक भएकाले यो अन्तिम विकल्प रोजिएको प्रस्ट्याएका थिए।
अहिले विश्वव्यापी रूपमै ठूला प्रविधि कम्पनीमा कर्मचारी निष्कासनको लहर छ। सन् २०२६ को पहिलो पाँच महिनामा ३ सय ६७ कम्पनीले १ लाख ४९ हजार ९ सय ३७ भन्दा बढी कर्मचारी हटाइसकेको लेअफ ट्र्याकर ‘ट्रुपअप डट आईओ’ को तथ्यांक छ। यसअनुसार ओराकलले ५० हजार ३ सय ३२, इन्टेलले ४६ हजार ५ सय ९१ र मेटाले ३४ हजार ५ सय ७१ कर्मचारी कटौती गरेका छन्। अमेजनले २७ हजार ५ सय २३ र एचपीले पनि २८ हजार ८ सय २६ कर्मचारी निकालेका छन्।
दराज नेपालको वित्तीय अवस्थाबारे आधिकारिक र भित्री स्रोतहरूबाट प्राप्त जानकारीअनुसार कम्पनी अहिले नाफा कमाउने दिशामा प्रयासरत छ। ‘दराज नेपालको ‘इबिट्टा’ अहिले ‘पोजेटिभ’ रहेको कम्पनीबाट बाहिरिएका एक कर्मचारी बताउँछन्। कर्जाको ब्याज, कर र अन्य प्राविधिक खर्च कटाउनुअघि कम्पनीले सञ्चालन मुनाफा गरिरहेको छ।





























प्रतिक्रिया