नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका सहमतिहरूको स्वागत, आर्थिक सहकार्य तीव्र बनाउन निक्कीको आग्रह

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका सहमतिहरूको स्वागत, आर्थिक सहकार्य तीव्र बनाउन निक्कीको आग्रह

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूबीच नयाँ दिल्लीमा सम्पन्न भेटवार्तामा भएका सहमतिहरूको स्वागत गर्दै दुवै देशबीचको आर्थिक सहकार्यलाई थप तीव्रता दिन आग्रह गरेको छ ।

संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरसँग जुन ६ मा भएको द्विपक्षीय भेटवार्तामा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा, विकास साझेदारी र जनस्तरको सम्बन्धलगायत विषयमा भएका छलफल तथा सहमतिलाई सकारात्मक रूपमा लिएको जनाएको छ ।

विज्ञप्तिअनुसार नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धताले दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ आयाम दिने विश्वास संघले व्यक्त गरेको छ ।

निक्कीले भारत र नेपालबीच सुरु गरिएको पियर–टु–पियर (ए२ए) भुक्तानी प्रणालीलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ । उक्त प्रणालीले सीमापार रेमिट्यान्स, पर्यटन तथा साना व्यवसायिक कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको संघको भनाइ छ ।

त्यसैगरी, डिजिटल इण्डिया र काठमाडौं विश्वविद्यालयबीच भएको समझदारीले भाषा प्रविधि तथा डिजिटल नवप्रवर्तनका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास पनि संघले व्यक्त गरेको छ ।

संघले दुवै सरकारलाई व्यापार पूर्वाधार तथा सीमा नाकाको आधुनिकीकरण, भन्सार तथा नियामकीय प्रक्रियाको सरलीकरण, रेल, सडक, हवाई तथा बहुआयामिक कनेक्टिभिटी विस्तार, ऊर्जा तथा पूर्वाधार आयोजनाको शीघ्र कार्यान्वयन, द्विपक्षीय लगानी प्रवद्र्धन, गैर–भन्सार अवरोधको समाधान, डिजिटल भुक्तानी प्रणालीको विस्तार तथा सरकार–निजी क्षेत्रबीच संस्थागत संवादको सुदृढीकरणमा विशेष प्राथमिकता दिन आग्रह गरेको छ ।

निक्कीले नेपाल–भारत आर्थिक सम्बन्धको मुख्य आधारका रूपमा कनेक्टिभिटी र ऊर्जा सहकार्यलाई औंल्याउँदै पूर्वाधार विकास, जलविद्युत आयोजना, प्रसारण लाइन तथा दीर्घकालीन विद्युत व्यापार व्यवस्थाको कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा आर्थिक साझेदारीलाई थप सुदृढ र सहजीकरण गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

Logo