काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलाे कारोबार दिन सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ। विगत केही समयदेखि उतारचढावपूर्ण रहेको बजारमा आज सुरुवाती समयदेखि नै बिक्री चाप बढ्दा परिसूचकमा गिरावट देखिएको हो।
सोमबार नेप्से परिसूचक २०.२७ अंक अर्थात् ०.७३ प्रतिशतले घटेर २,७३५.१४ विन्दुमा ओर्लिएको छ। बजार खुल्नासाथ सुरुवाती समयमा सामान्य सुधारको संकेत देखिए पनि त्यसपछि लगातार ओरालो लागेको परिसूचक कारोबारको अन्तिम समयसम्म सम्हालिन सकेन र बजार राताम्मे भएर बन्द भयो।
बजार परिसूचकमा गिरावट आए तापनि कारोबार रकममा भने उत्साहजनक उपस्थिति कायम नै रहेको छ। आज कुल ३५६ कम्पनीको ५६,८४५ पटकको कारोबारमा ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच भएको छ। जसअनुसार कुल ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँ ३१ पैसा बराबरको सेयर कारोबार भएको छ।
आजको बजारमा ओरालो लाग्ने कम्पनीहरूको संख्या अत्यधिक रहेको छ। कुल २२२ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा बजारलाई ओरालो तान्न मुख्य भूमिका खेल्यो। यसका विपरित मात्र ४२ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभई स्थिर रह्यो।
समग्र बजार घटे पनि केही विशिष्ट कम्पनीका लगानीकर्ताहरूले भने राम्रो नाफा कमाएका छन्। खानीखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेर प्रतिसेयर ८७१.२० रुपैयाँ पुगेको छ। त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मूल्य १३.११ प्रतिशत र शिवश्री हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहन सफल भयो। यस कम्पनीको २० करोड ४६ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच हुँदा अन्तिम कारोबार मूल्य ६४५ रुपैयाँ कायम भएको छ। त्यसैगरी, एलबीएलडी८८ र अरुण काबेली पावर क्रमशः दोस्रो र तेस्रो बढी कारोबार हुने कम्पनी बनेका छन्।





























प्रतिक्रिया