काठमाडौं । मोहनकुमार डाँगीको नेतृत्वमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।
संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाबमोजिम डाँगी अध्यक्ष बनेका हुन्।
इप्पानको २४औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न कार्यसमिति निर्वाचनमा कोषाध्यक्षबाहेक सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्। सहमतिपछि उक्त पदका अर्का प्रत्याशी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएका थिए ।
उपाध्यक्ष पदमा भरतबहादुर खत्री र भरतप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएपछि उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, नरेन्द्र बल्लभ पन्त र विक्रम विष्ट निर्विरोध चयन भएका छन् ।
यसैगरी महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन भएका छन् भने सचिव पदमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र विजयमोहन भट्टराई चयन भएका छन् भने कृष्णप्रसाद घिमिरे र दीपक पौडेललाई सचिव पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।
सबै पदमा सहमति जुटे पनि कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । सो प्रतिस्पर्धामा शंकर बस्याल २६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले भने ८२ मत मात्रै प्राप्त गरे ।
यसैगरी कार्यसमिति सदस्यमा खुलातर्फ अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् भने महिला सदस्य पदमा ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला सर्वसम्मत चयन भएका छन् ।
नयाँ प्रस्तावित विधानअनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त र बाबुराम थापालाई कार्यसमितिमा मनोनयन गर्ने निर्णय गरिएको छ ।





























प्रतिक्रिया