बकैया गाउँपालिकाले तोक्यो मकैको समर्थन मुल्य

बकैया गाउँपालिकाले तोक्यो मकैको समर्थन मुल्य

केन्द्रबिन्दु
6
Shares

हेटौडा । मकवानपुरको बकैया गाउँपालिकाले मकैको न्यूनतम समर्थन मूल्य तोकेको छ । पालिकाले स्थानीयस्तरमा उत्पादित मकैको समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरेको हो । किसानले पालिकाद्वारा सञ्चालित कृषि औद्योगिक ग्राममा समेत मकै बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

‘किसानले बजारमा समर्थन मूल्यभन्दा कम मूल्य पाउने अवस्था सिर्जना भएमा पालिका आफैंले पनि तोकिएको समर्थन मूल्यमा मकै खरिद गर्नेछ,’ बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले भने । लागतअनुसार उचित मूल्य नपाएको गुनासो आउन थालेपछि पालिकाले स्थानीय किसानलाई राहत दिने उद्देश्यले मकैको समर्थन मूल्य निर्धारण गरिएको उनले बताए ।

भीमफेदी र मकवानपुर गढी गाउँपालिकाले कोदो, फापर, जुनेलोको न्यूनतम समर्थन मुल्य तोके पनि जिल्लामा मकैको समर्थन मूल्य भने कुनै पालिकाले तोकेका थिएनन् । बकैयाले चालू आर्थिक वर्षदेखि मकैको समर्थन मूल्य निर्धारण गर्न सुरु गरेको हो ।

पालिकाले बकैया–७ हात्तीखोलामा कृषि औद्योगिक ग्राम स्थापना गरेको छ । जहाँ पशुपंक्षीका लागि चाहिने दाना, घाँस (साइलेज) देखि प्रांगारिक मलसम्म उत्पादन गरिँदै आएको छ । त्यसका लागि पनि पालिकाले स्थानीय किसानबाट मकैको ढोडदेखि दानासम्म खरिद गर्ने गरेको छ ।

क्षेत्रफलका हिसाबले मकवानपुरको सवैभन्दा ठुलो गाउँपालिकासमेत रहेको बकैयाका अधिकांशले मकै खेती गर्ने गर्छन् । बकैया गाउँपालिका कृषि विकाश शाखाका अनुसार १ सय ४० विघामा मकै खेती गर्ने गरिएको छ ।

पालिकाले आफ्नै लगानीमा कृषि औद्योगिक ग्रामबाट साइलेज तथा दाना उत्पादन गरेर स्थानीय किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको अध्यक्ष लामिछानेले बताए । उक्त ग्राममा शीतभण्डार पनि सञ्चालनमा छ ।

Logo