लगानीकर्ताको मनोबल खस्किदा सेयर बजारमा गिरावट

लगानीकर्ताको मनोबल खस्किदा सेयर बजारमा गिरावट

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेपछिका १२ कारोबार दिनमध्ये ९ दिन नेप्से घटेको छ भने ३ दिन मात्र बढेको छ।
बजेटपछि लगानीकर्ताको मनोबल घट्नु, पुँजीगत लाभकर दर बढ्नु र सम्पत्ति विवरण बुझाउने त्रासका कारण सेयर बजारमा उत्साह देखिएको छैन।

नेप्से परिसूचकसँगै कारोबार रकम, संख्या र सेयर कित्तामा समेत उल्लेख्य गिरावट आएको छ। सेयर बजारको घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। बजेट घोषणाअघि २ हजार ७ सय ८२ अंकमा रहेको नेप्से मंगलबार २ हजार ७ सय ५ अंकमा ओर्लेको छ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.३१ अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा शून्य दशमलव २३ प्रतिशतले घटेको नेप्से २ हजार ७ सय ५ दशमलव ४५ बिन्दुमा ओर्लिएको छ। गत बिहीबारदेखि नेप्से घटिरहेको छ। गएका चार कारोबार दिनमध्ये सोमबार नेप्से १२.२६ अंकले घटेको थियो। बाँकी दिन भने एकल अंकको गिरावट भएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट घोषणा गरेपछि अधिकांश दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आउनुले सेयर बजारमा उत्साह देखिएको छैन। यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम, कारोबार संख्या र कारोबार सेयर कित्तामा पनि कमी आउनुले सेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको पुष्टि हुन्छ।

मंगलबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्यो, १७७ कम्पनीको मूल्य घट्यो र १५ कम्पनीको मूल्य स्थिर रह्यो। कुल ४८ हजार १ सय १६ पटकको सेयर किनबेचमा ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। किनबेचमा १ करोड ७ लाख ८ हजार ५ सय ९६ कित्ता सेयर खरिदबिक्री भए। सोमबारको तुलनामा मंगलबारको कारोबार रकम घटेको हो। सोमबार ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

दुईतिहाइनिकट बहुमतको सरकार, नागरिकको ठूलो अपेक्षा र अर्थशास्त्री अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिका साता सेयर बजारमा गिरावट आएको छ। बजेटमार्फत सरकारले सेयर बजारमा लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम भएको घोषणा गरेको छ। यससँगै लाभकर अन्तिम हुने/नहुने भन्ने लामो समयदेखिको विवाद टुंगिए पनि सेयर बजार बढ्न सकेन।

पछिल्ला महिनामा धितोपत्र कारोबारसँग सम्बन्धित विषयमा केही उद्योगी व्यवसायीबारे अनुसन्धान गरिरहेकाले अरू लगानीकर्ता पनि त्रासमा रहेको र यसको असर सेयर बजारमा परेको लगानीकर्ताहरू बताउँछन्। आमलगानीकर्ताको मनोबल घटेको अवस्थामा बजेटमार्फत करको दर पनि बढ्नुले मनोबल खस्कन थप सघाएको उनीहरूको भनाइ छ।

Logo