नेपालमा बोसको पहिलो स्टोर सञ्चालनमा, प्रिमियम बजार विस्तारको रणनीति

नेपालमा बोसको पहिलो स्टोर सञ्चालनमा, प्रिमियम बजार विस्तारको रणनीति

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । विश्वव्यापी होम अप्लायन्स निर्माता बीएसएच होम अप्लायन्सेज प्रालिले नेपालको प्रतिष्ठित लक्ष्मी ग्रुपसँगको सहकार्यमा पहिलो ‘बोस’ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ ।

ललितपुरको जावलाखेलमा खोलिएको यो प्रिमियम आउटलेटले नेपाली उपभोक्तालाई रेफ्रिजेरेटर, वाशिङ मेसिन, डिशवाशर र बिल्ट–इन किचन समाधान प्रत्यक्ष अनुभव गर्ने अवसर दिनेछ ।

शहरीकरण, बढ्दो खर्चयोग्य आय तथा प्रविधिमैत्री प्रिमियम उपकरणप्रतिको आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले नेपाललाई दीर्घकालीन सम्भावनायुक्त बजारका रूपमा चित्रण गरेको छ । बीएसएच इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी सैफ खानले उपभोक्तालाई विश्वस्तरीय जर्मन इन्जिनियरिङ र प्रविधिको पहुँच दिने प्रतिबद्धता दोहोर्याए । उनका अनुसार ‘इन्भेन्टेड फर लाइफ’ को अवधारणामा आधारित उत्पादनहरूले उच्च प्रदर्शन, टिकाउपन र प्रयोगकर्तामैत्री नवप्रवर्तनलाई जोड दिन्छन् ।

नेपालको लन्ड्री बजारमा फ्रन्ट–लोड वाशिङ मेसिनको हिस्सा ७०–८० प्रतिशत रहेको तथ्य बोसको विश्वव्यापी लन्ड्री प्रविधि नेतृत्वसँग मेल खान्छ । ७० वर्षभन्दा लामो अनुभव बोकेको बोस वाशिङ मेसिन बलियो सामग्री, पावरफुल सफाइ र कपडा संरक्षणमा केन्द्रित छ। स्टोरमा ४० हजारदेखि २ लाख २४ हजार ९९० रुपैयाँसम्मका वाशिङ मेसिन उपलब्ध छन् भने मिक्सर, ग्राइन्डरदेखि इलेक्ट्रिक चुल्होसम्मका सामान ४ हजारदेखि ४ लाख रुपैयाँसम्मका मूल्य दायरामा पाइन्छ ।

डिशवासरप्रतिको रुचि पनि नेपालमा क्रमशः बढ्दो छ । विदेश बसाइबाट फर्केका उपभोक्ता, स्वच्छता सचेतना र दुई आयस्रोत भएका परिवारले यो श्रेणीको माग तीव्र पारेको कम्पनीको बुझाइ छ । विश्वकै अग्रणी डिशवाशर ब्रान्डका रूपमा बोसले समय, पानी र ऊर्जा बचतसहित उत्कृष्ट सरसफाइ दिने दाबी गरेको छ । यस्तै, मोड्युलर तथा प्रिमियम आवासीय प्रवृत्तिसँगै बिल्ट–इन किचन उपकरणमा पनि बोसले सक्रिय लगानी बढाउने जनाएको छ ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पाँच दशकभन्दा लामो व्यावसायिक यात्रामा विश्वस्तरीय गुणस्तर नेपाल ल्याउने प्रतिबद्धतालाई बोसको सहकार्यले थप मजबुत बनाएको बताए । उनले बढ्दो आकांक्षा भएका उपभोक्ताका लागि यो स्टोर विश्वसनीयता र नवप्रवर्तनको सङ्गम भएको विश्वास व्यक्त गरे ।

बोसले हाल मुलुकभर ७० भन्दा बढी डिलर साझेदार र २० आधुनिक व्यापारिक आउटलेटमार्फत बिक्री सञ्जाल चलाइरहेको छ । नयाँ ब्रान्ड स्टोरमा ह्यान्ड्स–अन प्रदर्शन, विशेषज्ञ परामर्श र प्रत्यक्ष अनुभवको व्यवस्था गरिएको छ । आगामी योजनाअन्तर्गत कम्पनीले खुद्रा सञ्जाल विस्तार, उपभोक्ता शिक्षा, बिक्रीपछिको सेवा स्तरोन्नति तथा पोर्टफोलियो विस्तारलाई प्राथमिकता दिने बताएको छ । यसै क्रममा बोस नेपालको सबैभन्दा विश्वसनीय प्रिमियम होम अप्लायन्स ब्रान्ड बन्ने लक्ष्यसहित अघि बढेको छ ।

Logo