अमेरिका–नेपाल व्यावसायिक करिडोरलाई सुदृढ बनाउने प्रतिबद्धता

अमेरिका–नेपाल व्यावसायिक करिडोरलाई सुदृढ बनाउने प्रतिबद्धता

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यावसायिक करिडोरलाई थप सुदृढ बनाउने उद्देश्यका साथ अमेरिकन चेम्बर अफ कमर्स इन नेपालले क्रस रिभर बैंकसँगको सहकार्यमा एक उच्चस्तरीय नेतृत्व संवाद कार्यक्रम सम्पन्न गरेको छ।

“नेपाल, ग्लोबल क्यापिटल एन्ड द फ्युचर अफ फाइनान्सियल इनोभेसन” शीर्षकमा आयोजित उक्त विशेष संवादमा नेपालको बैंकिङ, वित्त, लगानी, फिनटेक, बीमा, प्राइभेट इक्विटी तथा समग्र व्यावसायिक क्षेत्रका प्रमुख व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

संवाद कार्यक्रममा उदीयमान लगानी गन्तव्यका रूपमा नेपालको बढ्दो सम्भावनालाई उजागर गर्दै नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व र दीर्घकालीन साझेदारीमार्फत दुई देशबीचको आर्थिक सहयोग विस्तार गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अमेरिकन चेम्बरका उपाध्यक्ष आकाश गोल्छाले नेपाललाई अवसरहरूको देशका रूपमा स्थापित गर्ने चेम्बरको लक्ष्यलाई जोड दिए। उनले हाल नेपालमा रहेका अमेरिकी लगानीकर्ताहरूलाई सहयोग गर्दै नयाँ अमेरिकी लगानी भित्र्याउन मार्गप्रशस्त गर्ने प्रतिबद्धता जनाए । नेपालको लगानीमैत्री वातावरण सुधारका लागि निरन्तर पैरवी, रचनात्मक नीतिगत संवाद र दुई देशबीचको व्यावसायिक सम्बन्धलाई बलियो बनाउन एम्चैम नेपाल प्रतिबद्ध रहेको उनको भनाइ थियो।

क्रस रिभर बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजालले यस भ्रमणलाई नेपालसँगको दीर्घकालीन व्यावसायिक संलग्नताको सुरुवातका रूपमा चित्रण गरे। त्यस्तै, बैंकका इन्भेस्टमेन्ट को-हेड हेनरी पेनेलले नेपालको वित्तीय नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यका लागि लिएको दूरदृष्टिको प्रशंसा गरे। कार्यक्रममा काठमाडौँस्थित अमेरिकी दूतावासकी आर्थिक प्रमुख क्याथरिन लेहीले पनि अमेरिका–नेपाल व्यावसायिक संलग्नता विस्तारको महत्त्वमाथि प्रकाश पारिन्।

अमेरिकन चेम्बरका कार्यकारी निर्देशक अमिर थापाले सहजीकरण गरेको उक्त संवादमा चेम्बरको बृहत् व्यावसायिक कूटनीति पहलहरू, जस्तै सेलेक्टयूएसएसँगको संलग्नता, नेपाली डायस्पोरासँगको पहुँच, र डायस्पोरा लगानी पोर्टलका बारेमा जानकारी गराइएको थियो ।

Logo