काठमाडौं । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि भएको छलफलले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुँरास बचत तथा ऋण सहकारी, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।
यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्नेगरी तयारी भइरहेको समिति सदस्य रामेश्वर ढकालले राससलाई जानकारी दिए । “असारको २७ गतेदेखि मसान्तसम्म साना बचतकर्तालाई रकम फिर्ता गर्ने योजना बनाइएको छ, अहिले बचतकर्ताको विवरण ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ”, उनले भने ।
बचतकर्तालाई रकम फिर्ता गर्न करिब रु नौ करोड जम्मा भइसकेको छ । ती सहकारीका साना बचतकर्ताहरूलाई अनामनगरस्थित समितिका कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका रु एक लाखसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई रु १० हजारसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिए ।
समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।






























