काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय प्रविधि र प्रणालीगत सुधारका नयाँ योजना अघि सार्दै भावी मार्गदर्शन सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकले डिजिटल अर्थतन्त्र र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित ‘पियर टु पियर’ लेनदेन सञ्चालन गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्ने घोषणा गरेको छ। यसका साथै सरकारको राष्ट्रिय प्रतिबद्धता, शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची र बजेट वक्तव्यमा समेटिएका बैंकसँग सम्बन्धित कार्यक्रमहरूलाई अन्य निकायहरूसँगको समन्वयमा क्रमश: कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता राष्ट्र बैंकले जनाएको छ।
बाह्य दबाबका कारण हाल मुद्रास्फीतिमा केही चाप देखिए तापनि आगामी महिनादेखि यो दबाब क्रमश: कम हुँदै जाने राष्ट्र बैंकको अनुमान छ। आगामी वर्ष समग्र मूल्यस्थिति बैंकले तोकेको सीमाभित्रै रहने अपेक्षा गरिए पनि केन्द्रीय बैंकले सम्भावित जोखिमप्रति सजगता अपनाएको छ।
यदि बजारमा मुद्रास्फीतिको दबाब बढ्दै गएमा, न्यून लागत अर्थतन्त्रबाट सार्वजनिक तथा निजी क्षेत्रले अपेक्षित लाभ लिन नसकेमा वा समष्टिगत आर्थिक स्थायित्वमा चुनौती देखिएमा मौद्रिक नीतिको कार्यदिशा पुनरावलोकन गरिने मार्गदर्शनमा उल्लेख छ। यस्तो परिस्थिति आएमा विद्यमान ब्याजदर करिडोरलाई आवश्यकता अनुसार क्रमश: साँघुरो बनाउँदै लगिने नीति बैंकले अख्तियार गर्नेछ।
वित्तीय बजारमा नीतिगत स्थिरता कायम गर्न राष्ट्र बैंकले विशेष जोड दिएको छ। बैंकले यसअघि अघि सारेका समष्टिगत विवेकशील नियमनका औजारहरूलाई अत्यावश्यक अवस्थामा बाहेक परिमार्जन नगर्ने स्पष्ट पारेको छ।






























