उत्पादनमूलक क्षेत्रलाई उद्यमशीलतासँग जोड्न आग्रह

उत्पादनमूलक क्षेत्रलाई उद्यमशीलतासँग जोड्न आग्रह

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १० मंसिर ।

नेपालको प्रचुर सम्भावनालाई दृष्टिगत गरी उत्पादनमूलक क्षेत्रलाई उद्यमशीलतासँग जोड्न लगानीकर्ताहरुले आग्रह गरेका छन् ।

नेपालमा पहिलापटक सुरु गरेको ‘स्पार्क वीक २०१७’ अन्र्तगत ललितपुरस्थित झम्सीखेलमा उद्यमशीलतामा लगानीबारेको छलफलमा उनीहरुले नेपालको कृषि लगायतका उत्पादनशील क्षेत्रलाई उद्यमसँग जोड्नुपर्ने बताए । उद्यमशीलतालाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल इन्टरप्रेनियरसिप हबले आयोजना गरेको कार्यक्रममा नेपालमा प्रशस्त सम्भावना भएकोले ती क्षेत्रहरुलाई उच्च महत्व दिएर लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा नेबिकका प्रमुख कार्यकारी अधिकृत भुषण शाहले अझै पनि कृषि क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा नहेरिएको बताए । कृषिमा प्रशस्तै संभावना हुँदाहुँदै पनि यस क्षेत्रलाई महत्व नदिनु सकारात्मक पक्ष नभएको उनको भनाइ थियो । अहिले कृषिमा १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने राष्ट्र बैंकको नीतिले केही प्रगति हुने देखिए पनि सम्भावना अनुसारको प्रगति नभएको बताए ।

कृषि उत्पादन भए पनि बजार विस्तारमा समस्या आउने, मुलुक बाहिर निकासी गर्न समस्या हुने जस्ता समस्याहरु देखा परेको उनको भनाइ थियो । नेपालमा लामो समय द्वन्दमा गुज्रेकाले लगानीको वातावरण पनि लामो समयसम्म हुन नसकेको शाहको भनाइ थियो ।

अन्तर प्रेरणाका प्रमुख कार्यकारी अधिकृत नीरज खनालले नेपालमा उद्यमशीलताको विकासका लागि ठुलो लगानी नभै सानो लगानीबाट सुरु गर्नुपर्ने बताए । नेपालमा ठुलो लगानी गर्ने लगानीकर्ताहरुको अभाव भएका कारण सानो सानो पुँजी संकलन गरी उद्यमशीलताको विकास गर्न सकिने धारणा उनको थियो । उद्यमशीलताका लागि सरकारको स्पष्ट नीतिको आवश्यक पर्ने भन्दै उनले लगानी गर्ने र उद्यमी बन्ने विषयमा धेरैलाई जानकारी नहुँदा उद्यमशीलताको विकासमा समस्या परेको बताए ।

चौधरी फाउन्डेसनकी कार्यकारी निर्देशक मेरिना रन्जितले उद्यमशीलतामा लाखौ मानिसले लगानी गर्न चाहे पनि आवश्यक ज्ञान नभएका कारण उद्यमी बन्न नसकिरहेको बताइन् । उद्यमशीलताको विकासका लागि नीतिगत रुपमै पहल हुन सके मात्रै उद्यमशीलताको विकास हुनेमा उनको जोड थियो ।

हबले स्पार्क वीक अन्तर्गत मिडिया, इन्टरप्रेनियरसिप आइडिया र यसको वृद्धिबारेमा छलफल गरिसकेको छ भने आज आइतबार उद्यमशीलताको विकास लगायतका नीतिगत विषयमा छलफल गरी वीक समापन गर्न लागेको छ ।

Skip This
Logo