काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउन्डेसनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका लागि विशेष रूपमा निर्माण गरिएको आधुनिक आवासीय भवनको उद्घाटन गरेको छ । करिब छ महिनाको अवधिमा सम्पन्न भएको यो परियोजना राउण्ड टेबल नेपालको इतिहासकै सबैभन्दा ठुलो तथा प्रभावशाली सामाजिक सेवा परियोजनामध्ये एक रहेको संस्थाले जनाएको छ।
करिब १ करोड ८३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस आवासीय भवनले दृष्टिविहीन बालबालिकाहरूको जीवनस्तर उकास्न, उनीहरूलाई सुरक्षित, सम्मानजनक तथा गुणस्तरीय बसोबासको वातावरण उपलब्ध गराउने उद्देश्य बोकेको छ। १ रोपनी क्षेत्रफलमा निर्मित यस भवनमा ४८ भन्दा बढी बालबालिकाहरूको बसोबासका लागि व्यवस्था मिलाइएको छ।
भवनमा छ वटा आवासीय कोठा, विशाल भोजन कक्ष, पूर्ण सुविधासहितको भान्छा, स्नानगृह तथा अन्य आवश्यक पूर्वाधारहरू निर्माण गरिएको छ, जसले बालबालिकाको समग्र विकास, सुरक्षा र सहज जीवनयापनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
काठमाडौँ राउण्ड टेबल-१ का अध्यक्ष ट्र. सञ्जीव अग्रवालको नेतृत्वमा सम्पन्न भएको यस महत्त्वपूर्ण परियोजनामा डोल्मा फाउन्डेसन, माञ्जली परिवार सहित विभिन्न व्यक्तिगत दाताहरू, संस्थागत साझेदारहरू तथा शुभेच्छुकहरूले उदार सहयोग गरेका थिए। सहयोगी हातहरूको योगदानले एउटा भवन मात्र निर्माण नभई दृष्टिविहीन बालबालिकाले सम्मानपूर्वक जीवन बिताउन, शिक्षा हासिल गर्न र उज्यालो भविष्यको सपना देख्न सक्ने वास्तविक घर निर्माण भएको संस्थाको भनाइ छ।
उद्घाटन समारोहमा विश्वप्रसिद्ध नेत्र विशेषज्ञ तथा मानवतावादी डा. सन्दुक रुइत प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा डोल्मा फाउन्डेसन, माञ्जली परिवार, राउण्ड टेबल नेपालका प्रतिनिधि, विभिन्न विशिष्ट अतिथि, दाता, स्वयंसेवक, सहयोगी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको थियो।
समारोहमा बोल्दै राउण्ड टेबल नेपालका प्रतिनिधिहरूले प्रत्येक बालबालिकाले आफ्नो शारीरिक अवस्था वा आर्थिक पृष्ठभूमि जस्तोसुकै भए पनि समान अवसर प्राप्त गर्नुपर्ने संस्थाको दृढ विश्वास पुनः व्यक्त गरे। साझा उद्देश्यका साथ व्यक्ति, परिवार, संस्था र समुदाय एकजुट हुँदा असम्भव देखिने कार्य पनि सम्भव बन्न सक्छ भन्ने सशक्त उदाहरण यस परियोजनाले प्रस्तुत गरेको भन्दै उनीहरूले सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
यो आवासीय भवन करुणा, सहकार्य र निःस्वार्थ सेवाको स्थायी प्रतीकका रूपमा रहने र यसले आगामी पुस्तासम्मका दृष्टिविहीन बालबालिकालाई आफ्नै घरको अनुभूति दिलाउने विश्वास लिइएको छ।































