काठमाडौं । इरानमा इजरायल र अमेरिकाको संयुक्त सैन्य कारबाहीका कारण इन्धनको मूल्यमा भएको उच्च वृद्धिले नेपालको आन्तरिक हवाई क्षेत्रले भर्खरै सकिएको आर्थिक वर्षमा झन्डै साढे ५ लाख यात्रु गुमाएको छ ।
वायुसेवा सञ्चालकहरूद्वारा संकलित तथ्यांकअनुसार, हवाई इन्धनको मूल्य वृद्धिपछि हवाई भाडा ४० प्रतिशतसम्म बढ्दा आर्थिक वर्ष २०८२/०८३ मा नेपाली आन्तरिक उडानका यात्रु संख्या ५ लाख ४० हजारले गिरावट आएको हो । नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार, अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा भर्खरै सकिएको आर्थिक वर्षमा समग्र आन्तरिक हवाई यात्रुको संख्या १२ प्रतिशतले घटेको छ ।
संख्यात्मक रूपमा हेर्दा अघिल्लो वर्ष ४५ लाख ५७ हजार ६ सय ३४ जनाले उडान भरेकामा यस वर्ष ५ लाख ४० हजार ७ सय ५४ जना यात्रु घटेर कुल ४० लाख १६ हजारमा सीमित भएको छ । महिनागत तथ्यांकले आर्थिक वर्षको अन्तिम महिनाहरूमा (फागुनदेखि असारसम्म) यात्रुको संख्यामा तीव्र गिरावट आएको देखाउँछ । वायुसेवा सञ्चालक संघमा आबद्ध यति एयरलायन्सका चिफ बिजनेस अफिसर युवराज विष्टका अनुसार, अन्तर्राष्ट्रिय स्तरमा बढेको इन्धन संकट र त्यसले गराएको मूल्यवृद्धिको प्रत्यक्ष असर यही अवधिमा परेको हो ।
अघिल्लो वर्षको तुलनामा फागुनमा १० प्रतिशतले, चैतमा १७ प्रतिशतले, वैशाखमा ३३ प्रतिशतले, जेठमा ३४ प्रतिशतले र असारमा २९ प्रतिशतले आन्तरिक यात्रुको संख्यामा गिरावट आएको छ । आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुस) मा भने अघिल्ला वर्षकै हाराहारी वा केही मात्र कम उडानहरू भएका थिए । तर इन्धनको मूल्य अकासिएपछि हवाई भाडा अत्यधिक महँगो हुँदा सर्वसाधारण तथा आन्तरिक पर्यटकहरूले हवाई यात्रा कटौती गरेको तथ्यांकमा देखिन्छ ।
बजार हिस्साको ठूलो भाग ओगटेका प्रमुख तीन वायुसेवा कम्पनीहरू (बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्स) सबैको व्यवसायमा संकुचन आएको छ । हाल नेपालमा फिक्स्ड–विङतर्फ बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सिता एयर सञ्चालनमा रहेका छन् ।
उद्योगको सबैभन्दा ठूलो गिरावट बुद्ध एयरमा देखिएको छ । कम्पनीले ३ लाख ९४ हजार यात्रु (१४प्रतिशत) गुमाएको छ । जुन सिंगो वायुसेवा क्षेत्रले गुमाएको कुल यात्रु घटबढको करिब ७३ प्रतिशत हो । यद्यपि, ५८.३ प्रतिशत बजार हिस्सासहित बुद्ध एयर अझै पनि आन्तरिक उडानमा शीर्ष स्थानमा छ । यती एयरलाइन्सले ९३,०४८ (९ प्रतिशत) यात्रु गुमाउँदै २२.५ प्रतिशत बजार हिस्सा कायम राखेको छ । श्री एयरलाइन्स भने यो संकटका बिच तुलनात्मक रूपमा बढी स्थिर देखिएको छ । जहा ६ प्रतिशतको गिरावट देखिएको छ ।
हवाई क्षेत्रमा आएको यो ठूलो मन्दीबारे वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले नेपाली वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक दबाबमा परेको बताए । ‘कोभिड महामारीपछि नेपाली वायुसेवा कम्पनीहरूले भोगेको यो दोस्रो ठूलो संकट हो,’ अध्यक्ष पाण्डेले भने, ‘धेरै वायुसेवाको ब्यालेन्स सिट नकारात्मक भएको छ । कतिपयलाई सर्भाइभ हुन नै कठिनाइ भइरहेको अवस्था छ ।’
अध्यक्ष पाण्डेका अनुसार डलरको मूल्य वृद्धि र नेपाली रुपैयाँको अवमूल्यनका कारण कम्पनीहरूको सञ्चालन खर्च तीव्र रूपमा बढेको छ । ‘इन्धनको मूल्य अझै उचो र अस्थिर छ । वायुसेवा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउने शुल्कहरू डलरमा छन् । जहाजका स्पेयर पार्टसको खर्च डलरमा हुन्छ । तर हाम्रो कारोबार भने नेपाली रुपैयामा मात्र हुन्छ,’ उनले थपे ।
कैलाश हेलिकोप्टरका सञ्चालकसमेत रहेका पाण्डेका अनुसार फिक्स्ड–विङ जहाज मात्र नभई हेलिकोप्टर क्षेत्रसमेत यसबाट नराम्ररी प्रभावित भएको छ । यस वर्ष हेलिकोप्टरहरूको व्यापार र उडान समय कम्तीमा २० देखि ३० प्रतिशतसम्म घटेको छ । नेपालमा ११ वटा हेलिकोप्टर कम्पनी छन ।
हवाई भाडादर वृद्धिका कारण देशका अधिकांश प्रमुख विमानस्थलहरूमा यात्रुहरूको आवागमन घटेको छ । नेपालका मुख्य औद्योगिक तथा पर्यटन हबहरूमध्ये भैरहवामा यात्रु संख्या २२ प्रतिशतले, सिमरामा सर्वाधिक २४ प्रतिशतको यात्रु घटेका छन् । मुख्य पर्यटकीय गन्तव्य पोखरामा यात्रु संख्या ११ प्रतिशतले, कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार मानिने नेपालगन्जमा १६ प्रतिशतको संकुचन देखिएको छ । त्यस्तै धनगढीमा १३ प्रतिशत, विराटनगर र भद्रपुरमा ७/७ प्रतिशत, जनकपुरमा ६ प्रतिशत, सुर्खेतमा १५ प्रतिशत तथा राजविराजमा १० प्रतिशतले यात्रु घटेका छन् ।
देशका प्रायः सबै विमानस्थलमा गिरावट आउँदा विराटनगरमा भने अघिल्लो वर्षको तुलनामा यात्रु संख्या लगभग स्थिर देखिएको छ । वायुसेवा सञ्चालकहरूका अनुसार, नेपालको आन्तरिक हवाई बजारमा वार्षिक ४० देखि ४५ लाख यात्रु छन् जसमा ३ लाख हाराहारी विदेशी, ३ लाख हाराहारी भरतीय यात्रु पर्छन् । त्यस्तै १ लाख हाराहारी गैरसरकारी संस्था तथा कर्मचारी पर्छन् जो नियमित रूपमा हवाई सेवा प्रयोग गर्नेहरू हुन् ।
‘बाँकी ३९ लाख हाराहारी यात्रु नेपाली हुन् जो वर्षमा एक वा दुईपटक काठमाडौं आफन्त भेट्न, औषधि उपचारलगायतका सामाजिक कामले यात्रा गर्ने हुन्,’ विष्टले भने, ‘यसपटक इरान युद्धका कारण हवाई भाडा वृद्धि हुँदा यस्तै वर्षमा १/२ पटक भैपरी यात्रा गर्ने यात्रुहरुले जहाज चढेनन् । अर्को कुरा राजनितिक परिवर्तनपछि पहिले जस्तो काठमाडौं आवागमन हुने दलका नेता कार्यकर्ताहरूको पनि संख्या घटेको आन्तरिक वायुसेवाहरूको दैनिक बजार विश्लेषणको तथ्यांकमा देखिन्छ ।’


















