काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ६ महिना लकडाउन तथा ८ महिनादेखि कोरोना भाइरसका कारण मारमा परेका उद्योगी व्यवसायीलाई ऋणको भाका नाघ्यो भनेर कालोसूचीमा राख्ने धम्की नदिन निर्देशन दिएका छन् ।
राष्ट्र बैंकले आइतबार आयोजना गरेको वेबिनारमा गर्भनर अधिकारीले कोरोनाले मारमा परेका व्यवसायीलाई कुनै प्रकारको दबाब दिएर हतोत्साहित बनाउने भन्दा पनि राहत प्रदान गर्न आग्रह गरेका छन् ।
वेबिनारमा बोल्दै गर्भनर अधिकारीले कोरोना संक्रमण हुनु भन्दा पहिलाको कर्जा भएको खण्डमा भने छुट दिन मिल्दैन पनि तर कोरोना संक्रमणपछि समस्यामा परेको व्यवसायीलाई कडाई गर्नु राम्रो हुँदैन । उनले भने,‘अब बैंकहरुले नै यस्ता व्यवसायीहरुले गरेको व्यापार व्यवसाय जोगाउनेतर्फ लाग्नुस् ।’
कमाउन सक्नेबाट ऋण उठाउन कुनै आपत्ति नभए पनि समस्यामा परेका, कमाउन नसकेका व्यवसायीलाई समस्यामा पार्ने यो समय नभएको तथा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहक आफैं चिन्ने भएकाले को समस्यामा छन्, कसले कमाएका छन् भन्ने पनि उनीहरुले नै पत्ता लगाउन सक्ने उनको भनाइ छ ।
समस्यामा परेका व्यवसायीलाई राहत दिएर, उनीहरुको भावना बुझेर दीर्घकालसम्म हुने गरी व्यवसाय गर्ने वातावरण बनाउन पनि आग्रह गर्दै उनले चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीति कार्यान्वयनमा ल्याइएको भन्दै नीति कागजमा सिमित गर्नका लागि नभएको बताए ।
उनले मौद्रिक नीति कार्यान्वयनको क्रममा कहीं कतै समस्या भएको खण्डमा त्यसलाई क्रमशः संशोधन गरिने बताए । पुनर्कर्जा र सहुलियतपूर्ण कर्जाका सन्दर्भमा देखिएको दुविधा तथा सूचनाको अभावलाई समेत सम्बोधन गरिने उनको भनाइ छ ।































प्रतिक्रिया