पाेखरा ।
कोरोना महामारीका कारण प्रभावित पर्यटन क्षेत्रलाई राहत दिन सातामा दुई दिन बिदा दिने सरकारी प्रस्ताव पारित गरी कार्यान्वयन गर्न पोखरेली पर्यटन व्यवसायीले माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेको प्रस्ताव स्वागतयोग्य छ, पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले भने, “यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गर्दछौँ । ”
नेपालको पर्यटन क्षेत्र आठ महिनादेखि कोमामा पुगेको बताउँदै दुई दिन बिदाले राहत प्रदान गर्ने उनको भनाइ छ । बाह्य पर्यटक आउने सम्भावना तत्काल नभएको हुँदा आन्तरिक पर्यटकले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सके पर्यटन व्यवसायीलाई राहत हुने विश्वास उनको छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यावहारिक र समय सान्दर्भिक रहेकोसमेत उनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस प्रस्तावलाई सर्वसम्मत पारित गर्न नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छौँ, सङ्घका अध्यक्ष विकल तुलाचनले भने ।
सो प्रस्ताव कार्यान्वयनमा आएमा पर्यटन क्षेत्र चलायमान भई व्यवसायी पलायन हुनबाट रोकिने विश्वास व्यवसायीको छ । पर्यटन व्यवसायमा निर्भर प्रत्यक्ष तथा परोक्ष दक्ष श्रमिक रोजगारका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थामा न्यूनता आउने र स्वरोजगार बनेका अन्य ठूला तथा साना व्यवसायीलाई समेत राहत पुग्ने अध्यक्ष तुलाचनको भनाइ छ । कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई लक्षित गरी पर्यटन मन्त्रालयबाट आएको यस प्रस्तावले पर्यटन तथा होटल उद्योगमा व्याप्त सङ्कटलाई जोगाउन विशेष भूमिका खेल्छ ।
छिमेकी तथा तेस्रो मुलुकबाट आगमन हुने पर्यटक र अन्य विविध समस्यालाई ध्यानमा राखी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आन्तरिक पर्यटन प्रवर्धन गरी पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्य उल्लेखित प्रस्तावमा अन्तर्निहित हुनु सकारात्मक पक्ष हो, पर्यटन व्यवसायी सूर्यबहादुर भुजेल बताउँछन् ।
यसैबीच सङ्घीय सरकारले विशेष गरी पर्यटन तथा होटल व्यवसायलाई कोभिड–१९ का कारण अति प्रभावित उद्योग व्यवसायका रूपमा वर्गीकरण गरी व्यवसायलाई पुनर्जागरण र पुनरुत्थान गर्न एक खर्ब रुपैंयाँको पुनर्कर्जा प्रदान गर्ने प्रक्रिया सुरु गर्नसमेत माग गरेको छ ।गाेरखापत्रबाट































प्रतिक्रिया