केन्द्रबिन्दु बुलेटिन : नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएको छ । संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसीले नेपाललाई स्तरोन्नतिको सिफारिस गरेको हो । अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि कमिटीले अवधि ३ वर्षको दिने निर्णय गरेको थियो । तर यसपटक कोभिड–१९ का कारण थप समय आवश्यक पर्ने भन्दै नेपालले अनुरोध गरेपछि कमिटीले ५ वर्षको तयारी समय दिने निर्णय गरेको हो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको आरोप लगाएका छन् ।  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमा सिद्धान्त, निष्ठा र इमान्दारिताको क्षमता नभएको पनि प्रचण्डको आरोप छ । 

नव नियुक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरू तयारी अवस्थामा रहेको पनि भट्टराईको दावी छ । यस्तै प्रमुख सचेतक भट्टराईले संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश भएमा त्यस विरुद्ध डटेर लाग्ने तथा  नेकपाका सांसदहरूले पार्टीको ह्विप उल्लंघन गरे विधान अनुसार कारबाही गरिने चेतावनीसमेत दिएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगत भन्दा प्रभावकारी बनाउने बताएका छन् । आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहटने तथा निर्दोष व्यक्तिलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउने कोही कसैलाई पनि नछोड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता सम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ ।  यसका लागि सम्बन्धीत  पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको आयोगले जनाएको छ । आयोगका अनुसार दल सम्बन्धी विषयमा दर्ता भएको निवेदनमा आयोगबाट अध्ययन, परामर्श भइरहेको छ ।

Logo