एनसेलले सुरु गर्‍यो धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

एनसेलले सुरु गर्‍यो धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममा फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत सञ्चालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका हुन् । चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरेका थिए । 

प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण दुरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमको उदेश्य रहेको छ । यसअन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी हस्तान्तरण गर्दैछ । धुलिखेल अस्पतालका तर्फबाट मानव संशाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुँदैछ । अस्पतालले कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमन लगायतका कामहरु पनि गर्नेछ ।

पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरुमार्फत कार्यक्रम सञ्चालन हुनेछ । यी केन्द्रहरुले कुल १५ हजार भन्दा बढी घरधुरीका जनसमुदायलाई सेवा प्रवाह गर्दै आएका छन् । कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन् । अबको चार वर्षमा यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने योजना रहेको एनसेलले जनाएको छ ।

Logo